पुसकाे चिसोले कठ्याङिग्रएका विपन्न परिवारलाई सिजन गुरुङले दिए न्यानो कपडा
पुस १०, सुनसरी । तराईमा शितलहर बढेसँगै विपन्न परिवारको जनजिवन कष्टकर बन्दै गएको अवस्थामा तरुण दल सुनसरी सभापतिले न्यानो कपडा वितरण गरेका छन् ।
सामाजिक भावनाबाट ओतप्रोत भएका नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले सुनसरी इटहरी वडा नं. १ र २० का १९ अतिविपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।
‘शितलहर र जाडोले तराईमा दिउसै बस्न सक्ने अवस्था छैन, विपन्न घरपरिवारका आङमा एक सरो न्यानो लुगा नभएको जानकारी आएकोले उनीहरुलाई केही राहत होस भनेर कपडा वितरण गरेको हुँ ।’ गुरुङले भने ।
सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै तरुण युवाहरुलाई पनि सामाजिक काममा लगाउँदै आएका गुरुङको समाजसेवाबाट धेरै परिवार लाभान्वित भइरहेका छन् ।
दुई वर्ष अघि तराईमा गएको बाढिको प्रकोपमा सुनसरीको इटहरी लगायत क्षेत्रमा १९ जना भन्दा बढिको मृत्युहुँदा तरुण दल सुनसरीले विशेष अभियान नै चलाएर बाढिपिडितलाई राहत र पुर्नस्थापनाको काम गरेको थियो ।