४१ जना सहित इक्यानमै फर्किए सरोज बस्नेत

पुस १०, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बाट बाहिरिएका समूह पुनः इक्यानमै फर्किएका छन् ।
गत वर्षको असोजमा इक्यान छाडेर गएका शैक्षिक परामर्श संघका प्रभावशाली ब्यक्तिहरु पुनः इक्यानमा फर्किएपछि शैक्षिक परामर्श क्षेत्र तरंगित भएको छ ।
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) स्थापनामा मुख्य भूमिका निर्वाह गरेका सरोज कुमार बस्नेत नै पुनः इक्यानमा आएपछि नेकाभित्र ठूलै हलचल भएको छ । बस्नेतसँगै इक्यानमा ४१ जनाको टीम नै आएको दाबी गरिएको छ ।

इक्यानको आज बसेको पूर्वअध्यक्ष परिषद्, सल्लाहकार कमिटि र केन्द्रिय कमिटिको संयुक्त बैठकले सरोज बस्नेतलाई सल्लाहकारमा मनोनित गरेको छ । बस्नेतसँगै भरत रेग्मी, पदम भट्टराई लगायत ४१ जनाको टिम नै इक्यानमा आएपछि नेकाको उपायदेयता सकिएको देखिएको छ ।
‘शैक्षिक परामर्श क्षेत्रलाई एउटै ढिक्कामा अगाडी बढाउन अब फुटेर होइन जुटेर जानुपर्छ भन्ने अभियान थियो, उहाँहरुको आगमनले इक्यानलाई मात्र नभइ समग्र शैक्षिक परामर्श क्षेत्रलाई नै ठूलो शक्ति मिलेको छ’, इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए ।
बस्नेतको पुनरागमनले इक्यान अझ मजबुत भएको शैक्षिक परामर्श ब्यवसायीले पनि बताएका छन् । ‘हामीले सबैलाई मिलाएर लैजाउँ, यो बेला फुट्ने होइन जुट्ने समय हो भनेका थियौं, ढिलै भएपनि नयाँ अध्याय शुरु भएको छ । सरोज बस्नेत सहित सबै साथीहरु आउँदा हामीलाई हौसला मिलेको छ,’ एक इक्यान सदस्यले भने ।
गत वर्षको असोजमा बस्नेत लगायतले सन्तोष प्याकुरेल, निरज सिटौला लगायत इक्यानबाट बाहिरिएर नेका गठन गरेका थिए । नेकाको गठनसँगै नेपालमा आइडिपी भित्र्याउने चलखेल पनि भएको थियो । स्वदेशी लगानीलाई धरासायी बनाउन निरज सिटौला लगायतको सक्रियतामा आइडिपी आएको देखिएको थियो । केहि साताअघि आइडीपीका नेपाली लगानीकर्ता निरज सिटौला आफैँ नेकाको उपाध्यक्ष भएपछि नेकाभित्र चर्को असन्तुष्टी उत्पन्न भएको थियो ।
‘आइडीपी ल्याउन कै लागि इक्यान फुटाइएको थियो भन्ने चरितार्थ भयो । सरोज बस्नेतको पुनरागमनले नेपाली शैक्षिक परामर्श क्षेत्रलाई अझ मजबुत बनाएको छ’ इक्यान अध्यक्ष पाण्डेले भने ।
यस विषयमा सरोज बस्नेतसँग कुरा गर्न खोज्दा मोबाइल सम्पर्क हुन सकेन ।








