मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पत्रकारलाई कुटेको भन्दै नेपालीसहित विदेशी पत्रकार धर्नामा

मंसिर २४, काठमाडौं । पत्रकारमाथि आक्रमण गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै खेल पत्रकारहरुले १३ औं सागको फाइनल खेल बहिस्कार गरेका छन् ।   

मंगलबार रंगशालामा रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन चापागाईंलाई सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए। सोहीको विरोधमा खेल पत्रकारहरुले धर्ना दिएका हुन् ।   

उनीहरु रंगशालाभित्र भइरहेको भुटान र नेपालबीचको खेल हेर्न समेत गएका छैनन् । पत्रकारहरुले सुरक्षित रुपमा रिपोर्टिङ गर्न पाउने अधिकारको माग गरेका छन्। 

पत्रकार चापागाइँले प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको भिडियो र तस्बिर खिचिरहेका थिए। सोही समयमा डिएसपी सन्तोष राठोरले उनीमाथि कुटपिट गरेका थिए । घाइते चापागाईंको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। 

पत्रकार चापागाईँमाथि हातपात गर्ने प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले बताएका छन्।   

प्रहरीको ज्यादतीविरुद्ध विरोधमा उत्रिएका पत्रकारहरुले ‘गेट वेल सुन नेपाल प्रहरी, प्रहरी ज्यादती बन्द गर, समाचार संकलनको अधिकार रक्षा गर लगायतका नारा लगाएका थिए ।   

खेल बहिस्कार गरी धर्नामा बसेका नेपाली पत्रकारहरुलाई विदेशी पत्रकारहरुले समेत साथ दिएका छन् ।  

प्रतिकृयाहरु
Loading...