बलि प्रकरण : उमेशले भने, ‘प्रहरीले हामीलाई बिनाकारण समात्यो’

काठमाडौँ । एक युवतीलाई प्रलोभनमा पारेर बलि दिने कार्यमा प्रयोग गर्न खोजेको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।   

यसैबीच उक्त प्रकरणमा प्रहरी हिरासतमा रहेका उमेश शाहले आफूलाई प्रहरीले बिनाकारण समातेको बताएका छन्। उनले उल्टै प्रहरीलाई अपराध पुष्टि गर्न चुनौति दिएका छन् ।   

पत्रकार सम्मेलनपछि ७ आरोपीलाई प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौँको प्राङ्गणमा ल्यायो । हत्कडी र मास्कसहित सार्वजनिक गरिँदै गर्दा एकाएक उमेश मास्क खोल्दै चिच्याउन थाले । उनले भने, ‘हामी अपराधी हो भनेर प्रहरीले कसरी पुष्टि गर्न सक्छ । हामीले त्यस्तो कुनै गल्ती नगर्दा पक्राउ गर्ने काम भएको छ ।’   

उनले मास्क खोलेर एकाएक चिच्याउन थालेपछि प्रहरीले सबैलाई हतार–हतार हिरासत कक्षतर्फ लगेको थियो । प्रहरीले हतार हतार उमेशसहितलाई भित्र लैजाँदा पनि उमेश भन्दै थिए, ‘हामीलाई प्रहरीले कसरी दोषी करार गर्दौ रहेछ हामी पनि हेर्छौँ ।’   

अन्य आरोपीले पनि आफ्नो मास्क नखोली पक्राउको प्रतिवाद गरिरहँदा साहले भने एकाएक मास्क खोलेर चिच्याउँदै आरोपको प्रतिवाद गरेका हुन् ।   

उनले फोन सम्पर्कका आधारमा मात्र हामीलाई समातेको हो भन्दै प्रहरीसँग आक्रोश पनि व्यक्त गरेका छन्। 

प्रहरीले भने काठमाडौँमा मोडलिङ गर्ने भन्दै युवतिलाई बलि दिने योजनाका साथ भारतको बिहान पुर्याउने कार्यमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको बताएको छ ।   

उमेश सप्तरी राजबिराजका हुन् । उनीसँगै कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी पनि पक्राउ परेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *