‘अब निर्धक्क छोराछोरी विद्यालय पठाउने छौं’

मंसिर १७, गोरखा । २०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)गोरखाले  नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । 

इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको १८ कोठे नयाँ भवन भव्य समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । भवनमा कम्प्युटर ल्याव र लाइब्रेरीका लागि दुई हलसमेत रहेका छन् ।   

२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखामा अवस्थित विद्यालयको भवन भूकम्पले पूर्ण ध्वस्त बनाएपछि  विद्यार्थीहरु जस्ताले  छाएको र बारेको अस्थायी टहरामा पढ्दै आएका थिए । जसले गर्दा घाम र पानीले पठन–पाठनमा समस्या पार्दै आएको थियो । पटक–पटक हुरी बतासले छाना उडाउँदा पढाइ नियमित हुन समेत समस्या थियो ।   

जस्ताको अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु अब नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र प्रकाश घागा मगरले भवन उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए । छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनको भनाइ थियो । ‘अब घाम र पानीको डर छैन’ उनले भने–‘ठूलो पानी पर्नसाथ अब विद्यालय छुट्टी नहुने भयो ।’   

यस्तै सोही कक्षाकी छात्रा सविना गुरुङले पनि छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् । ‘पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे’– गुरुङले भनिन्, ‘अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन ।’ टहरामा पढ्दा सधँै भूकम्पले झस्काइरहने भएपछि पक्की भवनले त्यो भुलाएको उनको भनाइ थियो । ‘अब आनन्दले पढ्न पाइने भयो’ कक्षा ५ का छात्र निर्मल रानाले भने–‘अब विद्यालय पनि नियमित हुनेछ ।’ 

भौगोलिक दूर्गमताका कारण विद्यालयको भवन निर्माणमा ढिलाइ भएको थियो । २०७४ पौषमा  निर्माण शुरु भएको विद्यालय २०७६ मंसिरमा २१ महिनामा सम्पन्न भएको हो । एक भव्य कार्यक्रमका बीच  विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो । 

नवनिर्मित भवनको साँचो जाइकाका चिफ इञ्जिनियर राजेश बोगटीले  पहिले जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्रलाई हस्तान्तरण गरेका थिए । पछि इकाई प्रमुख मिश्रले साँचो प्रमूख अतिथि एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतलाई, मन्त्री बस्नेतले सिरानचोक गाउँपालिकाका प्रतिनिधि एवं सामाजिक समितिका सभापति दिपक हमाललाई हस्तान्तरण गरेका थिए । सभापति हमालले साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धीबहादुर गुरुङ र अध्यक्ष गुरुङले साँचो विद्यालयका प्रधानाध्यापक बुद्धीमान गुरुङलाई हस्तान्तरण गरेका थिए । 

नवनिर्मित विद्यालय भवन समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले प्रदेश सरकार सार्वजनिक शिक्षाको सुदृढीकरणमा प्रतिबद्ध रहेको बताए । दूर्गममा रहेको यस विद्यालयलाई आवासिय बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री बस्नेतले भौतिक सुविधा सम्पन्न भएपछि अब शैक्षिक सुधारमा लाग्नुपर्ने बताए । 

सूचना प्रविधियुक्त सिकाइको विकल्प नभएको भन्दै उनले विद्यालयमा विज्ञान प्रयोगशाला र सूचना प्रविधिको विकासका लागि सहयोग गर्ने आश्वासन दिए । 

सिरानचोक गाउँपालिकाका प्रतिनिधि एवं सामाजिक समितिका सभापति दिपक हमालले इकाइले बनाइदिएको नयाँ भवनको संरक्षण गर्दै यसमा  विद्यार्थी भर्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा दिने जिम्मा गाउँपालिकाले लिने बताए ।  आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरु भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गरे ।  

गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने औंल्याए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धीबहादुर गुरुङले नवनिर्मित विद्यालय भवनको रेखदेख गर्ने र त्यसमा विद्यार्थी भराउने जिम्मा आफुहरुको भएको बताए । 

विद्यालयका प्रधानाध्यापक बुद्धीमान गुरुङलेले नयाँ भवनले आफूहरुको भूकम्पको पीडा भुलाएको बताए । ठूलो हावा चल्नसाथ र ठूलो पानी पर्न साथ विद्यालय बन्द गर्नुको विकल्प थिएन,अब विद्यालय नियमित हुने भो, प्रअ गुरुङले भने । 

उनले स्थानीय समुदायमा जनचेतनाको कार्यक्रम सञ्चालन गरिदिन समेत प्रदेश सरकारसँ आग्रह गरे । नयाँ भवन बनेसँगै विद्यालय छाडेका ५ विद्यार्थी पुनः फर्किएका उनले बताए । भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने भन्दै प्रअ गुरुङले नयाँ भवन जति सुन्दर छ अब त्यसमा शिक्षण सिकाइ पनि त्यति नै सुन्दर हुने प्रतिबद्धता जनाए ।   

स्थानीय अभिभावक निलबहादुर गुरुङले भौतिक समस्याले विद्यालय सञ्चालनमा परेको समस्या नयाँ भवन बनेसँगै समाधान भएको बताए । ‘सधैं छोराछोरी विद्यालय पठाउन डर लाग्थ्यो, अब निर्धक्क पठाउने छौं ।’  गुरुङले भने । अर्की अभिभावक विमाया गुरुङले विद्यालयको नयाँ भवन बनेकोमा खुसी लागेको बताइन् ।  गोरखा सदरमुकामदेखि ८ कोश उत्तर दुर्गममा रहेको विद्यालयमा हाल २१५ विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *