भ्रमण वर्षको पूर्वसन्ध्यामा सौराहामा हात्ती महोत्सव

मंसिर २७, चितवन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहामा पुष १० गतेदेखि हात्ती महोत्सव सुरु हुँदैछ ।   

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आगामी पुष १० गतेदेखि १८ गतेसम्म १६ औं संस्करणको हात्ती महोत्सव हुन लागेको हो ।   

आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्न र सचेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको शुक्रबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।   

बाघमारा सामुदायिक वनको चौरमा हुने महोत्सवमा हात्तीसँग सम्बन्धित गतिविधिहरु समावेश हुनेछन् । हात्ती महोत्सवका संयोजक एवम् क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणी खनालका अनुसार महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम हुनेछन् ।   

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा हुन लागेको यस पटकको महोत्सवलाई महत्वका साथ लिईएको छ । भ्रमण वर्षकै कारण यसअघि हटाईएको टाँगा दौड, गाढा दौड र डुंगा दौडललाई यस वर्ष पुनः समावेश गरिएको छ ।   

महोत्सवको समयावधि लम्बिएकाले ति खेलहरुलाई पुनः समावेश गरिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईले बताए ।   

भ्रमण वर्षलाई लक्षित गर्दै यस पटकको महोत्सवको समयावधि थप गरिएको छ । सौराहामा भ्रमणको सुभारम्भका लागि यस वर्ष ४ दिन समय थपिएको क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले जानकारी दिए ।   

यसअघि पुष ११ गतेदेखि १५ गते सम्म महोत्सव हुँदै आएको थियो । तर यस वर्ष पुष १० गतेदेखि १८ गतेसम्म महोत्सव हुन लागेको हो । प्रदेश नम्बर ३ सरकारले पनि हात्ती महोत्सवलाई अपनत्व ग्रहण गर्न लागेकाले यस पटकको महोत्सव थप गरिएको भट्टराईले बताए ।   

महोत्सव सम्पन्न गर्नका लागि कुल १ करोड १८ लाख ९१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ ।  

पत्रकार सम्मेलनमा रत्ननगर ६ का वडाध्यक्ष वलराम दाहाल, क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरे, युनाईटेट हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, क्षेत्रीय रेवानका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्ती महाेत्सवबारे जानकारी गराउँदै यस पटकको महोत्सवले भ्रमण वर्षलाई फाईदा पुर्याउने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *