सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउँछः सञ्चारमन्त्री बाँस्कोटा


पुस १५, कञ्चनपुर । आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् ।
सम्मेलनमा मन्त्री बाँस्कोटाले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे । “सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।” उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिए ।
सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो(याउँदै लगिरहेको बताउँदै उनले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गरे । “समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।”-रासस
