सौराहामा हात्ती महोत्सव सुरुः पर्यटनबाट फाईदा लिन सक्नुपर्छ-प्रचण्ड

पुस १०, काठमाडौं । भ्रमण वर्षको पूर्व सन्ध्यामा चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ ।   

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरे । सो अवसरमा प्रचण्डले नेपाल जैविक र भौगोलिक विविधताले धनी रहेको भन्दै यसको सही सदुपयोग गर्न सके अत्याधिक फाईदा लिन सकिने बताए ।   

भौगोलिक विविधतामा सही ढंगले पूर्वाधार खडा गर्नु पर्छ उनले भने, ‘यसबाट पर्यटन प्रवद्र्धन भई लाभ लिन सकिन्छ । मुलुक समृद्धि प्रमुख आधार पर्यटन हो । सबै मिलेर राजनीतिक परिवर्तन गर्न सकेपनि विकास भने गर्न सकिएको छैन ।’ 

राजनीतिक परिवर्तनका लागि सबै लडेर उपलब्धि भएको स्मरण गर्दै अध्यक्ष दाहालले विकासमा पनि सबै मिल्नुपर्ने बताए ।   

पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले समृद्धिको एक अंश पर्यटन रहेकाले सौराहाका व्यवसायीले पर्यटक आकर्षित गर्ने नयाँ योजना र सेवा तथा गुणस्तर वृद्धि गर्नुपर्ने बताए ।   

क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, होटल संघका केन्द्रिय उपाध्यक्ष बिनायक शाह, प्रदेश ३ का मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया,नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार,नेपाली काग्रेश जिल्ला सभापति जीत नारायण श्रेष्ठ,रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा ,होटल संघका वरिष्ठ उपाध्यक्ष राममणी खनाल लगायतले मन्तव्य राखेका थिए ।   

सो अवसरमा पर्यटन र संरक्षणमा पुर्याएको योगदानको मुल्यांकन गर्दै नन्द प्रसाद भट्टराई, सन्तकुमार श्रेष्ठ र डिमरा चौधरीलाई सम्मान गरिएको थियो । पुष १८ गतेसम्म चल्ने महोत्सवमा हात्ती पोलो, हात्तीका छावाहरुको फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको पिकनिक, टाँगा, डुंगा दौड, महिला बीच भलिबल प्रतियोगिता लगायत प्रत्येक दिन साँस्कृतिक कार्यक्रम समेत हुनेछ ।   

भ्रमण वर्षकै शुभारम्भका लागि यस वर्ष हात्ती महोत्सवको समयावधि ४ दिन थप गरिएको छ ।   

महोत्सव लम्बाईएकाले विगतमा रोकिएका विभिन्न खेलकुदका कार्यक्रम यस वर्ष पुनः समावेश गरिएको छ भने राष्ट्रियस्तरको महिलाबीच भलिबल प्रतियोगिता थप गरिएको छ । अंग्रेजी नयाँ वर्षको प्रदेश सरकारले ३ नम्वर प्रदेशको १३ वटा जिल्लाबाट विभिन्न संस्कृति प्रर्दशन गर्ने कार्यक्रम तय भएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =