प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका मन्त्री र नेता नभेटी फर्किए

मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली लाई भेट्न अस्पताल पुगेका मन्त्री र नेताहरु नभेटी फर्केका छन् । प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका मन्त्री, पार्टीका नेता, विशिष्ट व्यक्तिहरु र शुभचिन्तकहरुले भेट गर्न नपाएपछि उनको स्वास्थ्य अवस्थाबारे अस्पतालमा बुझेर मात्र फर्केका छन् ।
प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल अस्पताल पुगेका थिए । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत पनि प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका थिए । तर, ओलीलाई भेट्न नपाएपछि उनीहरू पनि स्वास्थ्यवस्था बारे जानकारी लिई फर्केका थिए ।
सोमबार राती पेट दुखेपछि मंगलबार बिहान उपचारको लागि अस्पताल जाँदा उनलाई एपेन्डिसाइटिस भएकाे देखिएकाे थियाे । उनकाे आजै आकस्मिक शल्यक्रिया गरिएको थियो । महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएकाे हो । एपेन्डिसाइटिसको शल्यक्रियापछि हाल प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएको छ ।

प्रा. डा. पलेशवान जोशी लाखेको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा पेटमा जमेको करिब आधा लिटर पिप हटाइएकाे थियाे । अस्पताल स्रोतको अनुसार उनलाई उनलाई सहज बनाउन भेन्टिलेटर राखिएको हो ।
शल्यक्रिया गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्नेछ । तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले यकिनका साथ बताएका छैनन् ।








