‘मन्त्रालयमै राम्रो काम गरेर देखाउँछु’ मन्त्री गुरुङ

मंसिर १०, काठमाडौं ।  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफूले पाएको मन्त्रालयमै राम्रो काम गरेर देखाउने बताएका छन् । महिला मन्त्रीको रूपमा आफूलाई प्रधानमन्त्रीले पठाउँदा केही सञ्चारमाध्यमले विरोध गरेकोमा आपत्ति जनाउँदै केही महिनाभित्रै कार्ययोजना सार्वजनिक गरी काम गरेर देखाउने प्रतिबद्धता जनाए । 

सामुदायिक सूचना नेटवर्क (सीआइएन) ले सुरु गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिवद्ध रहेको बताए । 

‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभई व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु ।’ गुरुङ्ले भने । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने अपेक्षा गरेर पठाउनुभयो तर कतिपयलाई यहाँ निद्राभोक लागेको छैन, उनीहरूको अगाडि म काम गरेर देखाउनेछु ।’ उनले भने ।   

गुरुङले महिला हिंसा विरुद्धका अभियन्तालाई प्रचारप्रसारका लागि मात्रै अभियन्ता नबनी महिला हिंसा कम गर्नेतिर अग्रसर हुन आग्रह गरे । अभियन्तालाई मन्त्रीले महिला हिंसा किन भइरहेको छ ? भनेर खोजी गर्नतिर लाग्न पनि आग्रह गरे ।   

मन्त्री गुरुङले नैतिकता, शिक्षा र आर्थिक उत्पादनलाई जोड दिने बित्तिकै महिला हिंसा अन्त्य हुने भएकाले अब नैतिक शिक्षा प्रदान गर्नमा जोड दिनुपर्ने बताए । आफूलाई महिला मन्त्री हुनुमा कुनै हिनताबोध नभएको तर अरुले नकारात्मक प्रतिक्रिया दिएकोमा मन्त्री गुरुङले गुनासो गरे ।   

कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णकुमारी बस्नेतले अहिले पनि महिला आयोग पदाधिकारीविहीन  भएकाले पदाधिकारी नियुक्त गर्नतिर सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् । उनले सञ्चारकर्मी तथा सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचार सम्प्रेषण गर्दा पारिवारिक र दीर्घकालीन रूपमा पर्ने असरलाई समेत ख्याल गर्न आग्रह गरिन् । 

सरसफाइ अभियन्ता धिरेन्द्र साहले दुई नम्बर प्रदेशमा दाइजो अभिशाप नै भएकाले यसलाई रोक्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए । तराइमा दाइजो प्रथा अन्त्य गर्नुपर्छ भन्ने अभियन्ता नै आन्तरिक रूपमा दाइजो प्रथालाई प्रोत्साहन दिँदै आएकाले यसमा सुक्ष्म निगरानी गरेर सरकारले कडा कारवाही गर्नुपर्ने उनले बताए । ‘मन्त्रीज्यू दाइजो नलिएर विवाह गरेकाहरूको भेला आयोजना गर्नुस्, यसोभयो भने समाजमा सकारात्मक सन्देश जान्छ ।’ उनले भने ।   

कार्यक्रममा सहभागी महिला हिंसा विरुद्धका अभियन्ता, कानुनका विद्यार्थी तथा सञ्चारकर्मीले महिला हिंसाका घटना कार्यस्थल, सार्वजनिक सवारीसाधन, सञ्चारमाध्यम सबै क्षेत्रमा भइरहेकाले यसलाई न्यूनीकरण गर्नका लागि मन्त्री गुरुङमार्फत सरकारलाई आग्रह गरेका थिए ।   

सामुदायिक सूचना नेटवर्क सीआइएन प्रमुख दीपक आचार्यले सीआईएनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने सञ्चार अभियान आजबाट सुरु गरेको जानकारी गराउँदै लैङ्गिक हिंसा रोकथाम गर्नमा सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =