नेपाल एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबलकाे च्याम्पियन

कात्तिक २८, एजेन्सी । पहिलाे एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा स्वर्णपदक जितेको छ ।
बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि लिग चरणमा पनि नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार पहिलो सेटमा पछि परेपनि नेपालले उत्कृष्ट पूनरागमन गर्दै २५–१३ को जित निकाल्न सफल भयोे । नेपालले ४–७ ले पछि परेको नेपालले १२ अंक जोड्दै १६–७ को अग्रता लिदै सहज जित निकालेको थियो । दोस्रो सेटमा नेपालले दवाव झेल्नु परेन ।

उच्च प्रदर्शन गरेको नोपलले दोस्रो सेटमा २५–१२ को सहज जितसहित खेलमा २–० को अग्रता लियो । तेस्रो सेटमा पनि उच्च प्रदर्शनलाई कायमै राख्दै नेपालले २५–८ को एकपक्षीय जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
त्यसअघि बिहिबारै किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो । किर्गिस्तानले २५–१३, २५–१४ र २५–१२ को सोझो सेटमा जित निकाल्यो । गत शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको थियो । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
२०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक हो । त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तीन कास्यपदक जितेको छ । पुरुष भलिबल टोलीले पनि अहिलेसम्म कास्यपदक मात्रै जित्न सफल भएको छ । पुरुष टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्यपदक जितेको थियो ।








