सन् २०२२ को निर्वाचनमा बोल्सोनारोलाई हराउने ब्राजिलका पूर्वराष्ट्रपति लुलाको दावी

  

कार्तिक २६, ब्राजिल । शुक्रबार जेल मुक्त भएका ब्राजिलका पूर्वराष्ट्रपति लुलाले जेलमुक्त भएपछि समर्थकहरुलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा जेइर बोल्सोनारोलाई हराउने दावी गरे ।   

लुलाको टिप्पणीबारे पत्रकारहरुको प्रश्नमा बोल्सोनारोले भने लुलालाई ‘बेइमान’को संज्ञा दिए । ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले शनिबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा उग्र दक्षिणपन्थी बोल्सोनारोले ब्राजिलका श्रमिकहरु गरीब बनाएको आरोप लगाए ।   

भ्रष्टाचारको आरोपमा कैद लुला शुक्रबार जेलमुक्त भएका थिए । ‘म फर्किसकें । तिनले यो कुरा सुनुन् ,’ ७४ वर्षे लुलाले धातु–श्रमिकहरुको संगठनले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा भने । उनले सोही संगठनबाट आफ्नो राजनीति सुरु गरेका थिए ।   

भेलामा उपस्थित मानिसहरु रातो पहिरनमा भेला भएका थिए । रातो लुलाको वर्कस पार्टीको रंग हो ।  ‘हामीले कडा मेहनत गर्यौँ भने सन् २०२२ मा बोल्सोनारोलाई हराउनेछौं ,’ उनले भने । ब्राजिलमा अर्को राष्ट्रपतिय निर्वाचन सन् २०२२ मा हुनेछ ।   

रिपोर्टरहरुले लुलाको प्रतिक्रियाबारे बोल्सोनारोसँग प्रश्न गर्दा उनले भने ,‘ कुनै अपराधीलाई बलशाली बनाउने काम नगरौं । उनी बदमास हुन् । उ केही समयका लागि अहिले मुक्त भएका होलान् तर पनि उ अपराधी हो ।’   

के भावी दिनमा लुला राष्ट्रपति हुन सक्छन् ?   

सन् २००३ देखि सन् २०१० बीच राष्ट्रपति पदमा रहेका लुला राष्ट्रपति पद छाड्दा उनीप्रतिको जनसमर्थन उच्च थियो । तर बीचमा उनी भ्रष्टाचार मुद्दामा फसे र जेल परे ।  ब्राजिलको ‘क्लिन रेकर्ड’ कानुन अन्तर्गत उनी सन् २०२५ सम्म कुनै निर्वाचन लड्न पाउँदैनन् । 

ब्राजिलको सर्वोच्च अदालतले लुलाले पुनरावेदन प्रक्रिया पुरा नगरेकोले मुक्त गरेको थियो । लुलासँगै कयैन अन्य पुनरावेदनका क्रममा रहेका ब्राजिली कैदीहरु मुक्त गरिएका छन् ।  ब्राजिलका पूर्व राष्ट्रपति जेल–मुक्त गर्ने कदमलाई विश्वभरीका वामपन्थी नेताले स्वागत गरेका थिए । त्यसमा ब्रिटिस लेबर नेता जेरेमी कोरबिनदेखि अमेरिकाका राष्ट्रपतिका आकाक्षी बर्नी स्याण्डर्ससम्म छन् ।   

जेल अवधि भरी लुलाले आफू निर्दोष रहेको दावी गर्दै आएका थिए । केही महिनाअघि मात्रै ‘द इन्टरसेप्ट’ले लुलाको सुनुवाईको क्रममा न्यायाधीशले आफ्नो क्षेत्राधिकार नाघेर लुलालाई दण्डित गराउन वकिलहरुलाई दवाव दिएको प्रमाणहरु प्रकाशित गरेको थियो ।   

लूलालाई सजायँ दिएका तत्कालीन न्यायाधीश सर्गियो मोरो अहिले बोल्सोनारोको सरकारमा न्याय मन्त्री छन् । लुलाले आफ्नो मन्तव्यको क्रममा मोरोको पनि आलोचना गरेका थिए । जवाफ मोरोले ट्वीट गर्दै भने ,‘आफूलाई एक अपराधीलाई जवाफ दिन्न ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =