‘आमाको सारथी बनेका एक अशक्त युवक, जो कहिल्यै थाक्दैनन्’

पातलो शरीर । कालो वर्ण । भर्खरै बसेका जुँगाका रेखी । भित्र पसेका गाला । बाहिर निस्किएका आँखा । बान्की नमिलेका खुट्टा । अस्वभाविक हिँडाई । अस्वभाविक हेराई । अस्पष्ट बोली ।
अन्दाजी १७/१८ वर्षको हुनुपर्छ ।
कहिले छल्दै त कहिले उनैको समिप हुँदै गुड्छन् म सवार बस ।

फेसबुक चलाउन आतुर मेरा यी आँखा अचेल रोडमा नजर लाउँछन् । घरिघरी ।
गौशाला–बत्तीसपुतली–मैतिदेवी हुँदै अनामनगरको घट्टेकुलो नियमित धाउन थालेको झण्डैं दुई वर्ष पुग्न लाग्यो । गहिरिएर त्यो सडक कहिल्यै नियालिनँ ।
घर र अफिस गर्दा पैदल कमै हिँडियो । गाडी चढ्नेबित्तिकै फेसबुक खोलिहाल्ने लतले सडकका कुना कन्दरा नियाल्ने फुर्सदै नहुने !
गाडी चढ्यो । सिट पाए बस्यो, फेसबुक खोल्यो ।
कसैको स्टाटस हेर्यो, मुस्कुरायो ।
कसैका कमेन्ट नियाल्यो ।
ट्रोलहरु हेर्यो, हाँस्यो ।
आफूले पोष्ट्याउँदाको फिलिङ्स फेरि अर्कै हुने । खुल्दुली उत्तिकै । मिनेट मिनेटमा खोलिन्छ । सिट नपाउँदा फेरी सिटैको ध्यान । जान्छ त बाहिर नजर ?
अहिले थोरै परिवर्तन भए आनीबानी । बत्तीसपुतली पुग्नेबित्तिकै उनैलाई खोज्छन् यी नयन ।
जोकोहीको मनमा उनलाई देख्नेबित्तिकै प्रश्न उठ्दो हो– ‘को होला, घर कहाँ होला । पढ्न छोडेर किन यसरी हिँडेको होला । कस्तो खुट्टा पनि नदुखेको ? एक पटक सोधुँ के ?’ ती एक–एक मनमा यी अनेक खुलदुली हुँदा हुन्, मेरा जस्तै ।
००० ००० ०००
सदाझैँ कार्यालयका लागि निस्किएँ । बाटो उही । चाबहिलबाट हिँडेको माइक्रो गौशालामा टक्क रोकियो । यात्रु झार्न र हाल्न । मेरा आँखा भने उसैलाई खोज्दै थिए, देखिहालेँ । आज ऊसँग नबोली फर्कन यो मनलाई मनाउन मनै लागेन । गन्तव्यमा नपुग्दै झरेँ ।
चालकलाई रोडमा सामान डेलिभरी गर्नमै व्यस्त थियो ऊ ।
हातमा ‘मिनिरल वाटर’ का बोटल, सवारी साधन पुछ्ने रातो टालो अनि फलफुल के के मा झिंगा, भुसुना धपाउन प्रयोग गरिने कपडाका झुत्रा बेरेका डण्डी । अनि साथमा एउटा रातो झोला ।
ती सामान बोकेर अशक्त खुट्टा घिसार्दै ऊ मेरो नजिक आएझैँ गर्छ, घरी ट्याक्सी, माइक्रो र ट्याम्पो रोकेका ठाउँतिर दौडन्छ । किन्छन् मख्ख पर्छ, किन्दैनन् मलिन अनुहार लगाउँदै अर्कोतर्फ अघि बढ्छ । कोही विदेशी देखे त्यतैतर्फ लम्कन्छ, आस हुँदो हो केही पाउने !
सायद यही होला उसको दैनिकी ।
आज बोलेरै जान्छु भन्ने आफैंलाई प्रमिस गरेकी थिएँ । त्यसैले ऊ आफू उभिएको साइडतिर आउने प्रतिक्षामा थिएँ । आयो पनि । बोलाएँ, नजिकै आयो । चिया पिउने प्रस्ताव राखेँ । तुरुन्तै राजी भयो र, नजिकैको एउटा होटलतिर छिर्यौँ ।
लाग्यो ऊ भोकै छ । खाजा पनि खान्छौ ? सोधेँ । अस्पष्ट बोलीमा हुन्छ भन्ने आवाज आयो । एक ठाउँ समोसा तरकारी र दुई कप चिया अर्डर गरेँ । ऊ अलि नर्भस देखिन्थ्यो । डराउनु पर्दैन भनेँ । हुन्छ को आशयमा टाउको मात्रै हल्लायो, चलेनन् ओठ ।
नाम सोनु दास अरे । दुई दिदीका ऊ एक्लो भाई । एउटी दिदीको विवाह भइसक्यो । अर्की चैं मानसिक रोगी रे ! सबै आ–आफ्ना व्यवहारमा गाभिएका छन् ।
पोलियोको कारण उनको खुट्टा अपांग छ । घसार्दै हिँड्छन् । कान पनि अलि कम सुन्छन् । बोली अलि अस्पष्ट छ । सर्लाही स्थायी घर भएका १८ वर्षीय सोनुलाई उकालो चढ्नभन्दा ओरालो झर्न गाह्रो हुने रहेछ । बसेर झर्नुपर्ने सकस ।
चर्पि जान पनि सकस । आमाले पुर्याइदिनु पर्छ ।
काठमाडौंको डेरामा उनी आमासँग बस्छन् । कोठाभाडा ५ हजार । पिता स्वर्गीय भइसके । उनको लालनपालनको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा छ । घरमा हजुरआमा छिन् । उनी जान्छन् कहिलेकाहीँ भेट्न । खुब याद आउँछ उनलाई हजुरआमाको ।
‘मलाई हजुरआमाले धेरै माया गर्नुहुन्छ । उहाँको धेरै याद आउँछ । तर भेट्न जानै पाउँदिन । ममीलाई गाह्रो हुन्छ । त्यसैले काम गर्नुपर्छ । पठाउनु हुँदैन । त्यसैले म यस्तो (अपांग) भएपनि काम गर्छु । ममीले धेरै माया गर्नुहुन्छ । तर बुवाले माया हैन गाली मात्रै गर्नुहुन्थ्यो । अरुको कुरा सुनेर ममीलाई पिट्नु हुन्थ्यो । उहाँको माया लाग्दैन मलाई ।’
स्कुल जान्छौ ? जान्नँ ।
पढ्न मन लाग्दैन ? लाग्छ, तर आमालाई सघाउनुपर्छ । म काम गरेर कोेठाभाडा तिर्छु ।
कति कमाउँछौ र महिनामा ? ६ हजार दिन्छ साहुले ।
तलब आएपछि सिधै घरभेटीलाई दिन्छन् उनी । आमा गेष्ट हाउसमा सरसफाईको काम गर्छिन् । परिवारमा दुई जना छन्, घर खर्च टार्न उनीहरु दुवैजना कमाउँछन् । सहायता दिने कोही नाइँ ।
कति पटक त उनी दुर्घटनाको शिकार समेत भएका छन् । ‘पसलमा नराखेर सडकमा किन आएको भन्नुहुन्छ । सटर भाडा महंगो पर्छ । हामीले त गर्नै सक्दैनौँ । खानु त पर्यो नि ! गाडीहरु हुत्तिएर आउँछन् । ‘मलाई एक पटक बाईकले र अर्को पटक कारले हानिसक्यो । अस्पताल नै जानुपर्यो’, उनी सुनाउँछन् ।
मिहेनती, परिश्रमी छन् । खटान उस्तै छ उनको । सपांगहरुको भन्दा ज्यादा लाग्छ । बिहान ७/८ बजेदेखि बेलुका ६/७ बजेसम्म उही सामान बोकेर बत्तीसपुतली, गौशाला वरिपरिका सडक चहार्छन् ।
उनको खुट्टा सानैदेखि त्यस्तै हो । ठ्याक्कै कहिलेदेखि भन्ने याद छैन उनलाई । अलिक बांगो छ । हिँडाईले ठ्याक्कै छुटिन्छ । यस्तो अवस्थामा पनि उनलाई सामानको पैसा उठाउन निकै मुश्किल छ । २५ मा बेच्ने पानी पनि कति महंगो भन्छन् चालकहरु । कसैले त पैसा नै दिँदैनन् रे ।
‘साहुले जे भनेपनि छोड्दैन । पकेटबाट तिर्नुपर्छ,’– सोनु सुनाउँछन् ।
उनले यही अपांगताका कारण सडक पेटीमा खुब गाली खानु परेको छ । कहिले ट्राफिकको त कहिले चालकको ।
उनी सबैलाई एउटै जवाफ दिन्छन्– ‘अवस्थै यस्तो छ, के गर्नु ? गरेर खान त पाउनु पर्यो नि !’








