बछौली माविमा पनि प्राविधिक शिक्षा, मेयर वनले गरे उद्घाटन

  

कार्तिक १८, रत्ननगर । रत्ननगर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउने कामले तीब्रता पाएको छ । शिक्षालाई परिणाममुखी बनाउन रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरेको हो ।   

अहिलेसम्म पाँच वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु भइसकेको छ । पछिल्लो पटक सौराहा नजिक रहेको बछौली माविमा पनि प्राविधिक शिक्षा सुरु भएको छ ।   

आइतबार रत्ननगरका मेयर नारायण वनले २४ महिने होटल व्यवस्थापन (औद्योगिक प्रशिक्षार्थी) तालिमको उद्घाटन गरे । सो अवसरमा उनले आफ्नो कार्यकालमा नगर भित्रका अधिकांश सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने बताए ।   

‘हामी शिक्षालाई सीपसँग जोड्दैछौं । शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरेर बजारमा पठाउने योजना छ । रत्ननगरले उत्पादन गरेका विद्यार्थीहरुलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाइने छ’, मेयर वनले भने ।   

प्राविधिक विषय पढन रत्ननगरै जानु पर्छ भन्ने वातावरण तयार गर्ने योजना रहेको उनको भनाई छ ।   

२४ महिने होटल व्यवस्थापन तालिमको उद्घाटनसँगै बछौली माविमा प्राविधिक शिक्षाको सुरुवात भएको छ । नेपाल सरकार अन्तर्गतको सीटीइभिटीईले सो विद्यालयलाई ३ बर्षे डिप्लोमा होटल म्यानेजमेण्ट र २४ महिने होटल व्यवस्थापन तालिम सञ्चालनको लागि अनुमति प्रदान गरेको थियो ।   

२४ महिने होटल व्यवस्थापन तालिमको लागि ३५ जना विद्यार्थीहरु भर्ना भइसकेका छन । ४० जनाको कोटा रहेकोमा १९ जना वैकल्पिक सुचीमा फाराम भरेकाहरु मध्यबाट ५ जना भर्ना गरिने प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिए । २४ महिनामा साढे तीन महिना सैदान्तिक ज्ञान, साढे १८ महिना प्रयोगात्मक र एक महिना सैद्धान्तिक, प्रयोगात्मक र परीक्षा हुने प्रधानाध्यापक मरहठ्ठाले बताए ।   

प्रयोगात्मक सिकाइका लागि विद्यालयले सौराहाका ठुलो ७ वटा होटल तथा क्षेत्रीय होटल संघ चितवनसंग सम्झौता समेत गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले जानकारी दिए ।   

प्राविधिक शिक्षा सञ्चालनको लागि रत्ननगर नगरपालिकाले ल्याव निर्माणको लागि २५ लाख रुपैया विद्यालयलाई प्रदान गरेको छ । नगरपालिकाले नै प्राविधिक विषयको कक्षा सञ्चालनको लागि १६ लाख रुपैयाँको लगानीमा दुई वटा कक्षाकोठा निर्माण गरेको छ ।   

सो विद्यालयले प्राविधिक शिक्षा सञ्चालनको लागि पूर्वाधार निमार्ण गर्न २०७५ साल माघ महिनामा धान्याञ्चल लगाएको थियो । मेयर वन, आर्थिक समितिका संयोजक गोपीकृष्ण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनाल लगायतको पहलमा बछौली माविमा प्राविधिक शिक्षा आएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *