पर्यटनका लागि सँगसँगै

विश्वभर पर्यटनलाई महत्वका साथ लिने गरिन्छ । प्रायः मुलुकहरुले आर्थिक समृद्धिको मुख्य आधार यसलाई बनाएको पाइन्छ । यसको प्रभाव नेपालमा पनि परिरहेको छ । मुलुकले पर्यटनलाई चासोको रुपमा अघि बढाउने कार्य गरिरहेको भान हुन्छ । प्रत्येक नगरपालिका वा गाउँपालिकाहरुले पनि पर्यटन विकास भनेर बजेटहरु छुट्याइएको सुनिन्छ । विभिन्न संघ–संस्थाहरुले पनि आ–आफ्ना तवरबाट विभिन्न क्रियाकलापहरु गर्ने गर्दछन् । यो शुभ लक्षण हो ।   

प्रायः सबैमा पर्यटनको चेतना छाएको छ । यति हुँदाहुँदै पनि सफल हुन हामी सकेका छैनौं । दिगो पर्यटनको मर्मलाई हामीले जगेर्ना गर्न चुकिरहेका छौं । मुलुकले आफ्नो देशको पर्यटनको थिम के लाई बनाउने हो ? कस्तो किसिमको पर्यटनको हामीले सपना देखिरहेका छौं ? हाम्रो पर्यटनको प्रोडक्ट के हो ? कुन दिशाबाट हामी अघि बढ्दा उद्देश्यअनुरुप सफलताको बाटोमा पुग्न सक्छौं । अल्पकालिन वा दीर्घकालिन योजना के छ ? यस विषयमा ध्यान पुर्याएका छैनौं । 

सरकार, स्थानीय निकाय, गैह्र सरकारी संघ संस्था वा व्यवसायिक संस्थाहरुले आफूअनुकूल पर्यटनको गतिबिधी गरिरहेका हुन्छन् । किन यी बिचमा तालमेल नभएको होला ? यसको मुख्य कारक भनेको मुलुकको पर्यटनको ‘थिम’लाई ध्यान नदिँदा यस किसिमको कमजोरी भइरहेको छ । यस अर्थमा कसैले पनि आफूअनुकूल कार्यक्रम वा गतिबिधी गर्न पाइदैन भन्ने होइन । मुलुकको ‘थिम’अनुसार उक्त ‘थिम’लाई ‘म्याच’ हुने गरी कार्यक्रम वा पूर्वाधारको निर्माण गरेमा सुनमा सुगन्ध हुन्छ ।   

सरकारले देशमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ २०११ मा पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ नेपाल पर्यटन वर्ष २०११ मनाएको थियो । कार्यक्रमको प्रभाव के कस्तो रह्यो त्यसको चर्चा छुट्टै पाटो रहेको छ । तर, आजको चर्चा भने यस नाराको ‘थिम’अनुसार आगामी दिनमा पनि हामीले पाइला चाल्दा फाइदा हुने विषयमा केन्द्रित छ । पर्यटनका मुख्य तीन पक्षलाई हामी आधार मान्ने गर्छाै । ‘नेचर’, ‘कल्चर’ र ‘एड्भेन्चर’ । हामीले यीमध्ये कुन पक्षलाई प्राथमिकतामा राखेर योजना बनाएर कार्यन्वयन गर्ने हो भन्ने त्यसको निर्क्यौल गर्न भने जरुरी छ । विभिन्न आयामहरु पार गर्दै देश अहिले नयाँ संरचनामा सञ्चालन भइरहेको छ । तीन तहबाट सञ्चालित सरकारले पर्यटनको नीति तथा कार्यक्रमलाई एउटै ‘थिममा डिजाइन’ गरी ‘मास्टर प्लान’ बनाउन आवश्यक छ । सोहीअनुरुप क्रियाकलाप गर्न सबैमा उत्प्रेरित गर्ने हो भने ‘मास्टर प्लान’ अनुसार काम हुनेछ ।   

कुनै पनि गन्तव्यले एकल आफ्नो स्थानको मात्र प्रचार गरेर पर्यटक भित्र्याउँछु भन्ने भावना राख्ने हो भने सफलता हात लाग्दैन । पर्यटनमा ‘कनेक्सन’ को आवश्यकता पर्दछ । यस क्षेत्रको ‘टार्गेट ग्रुप’ वा हामीकहाँ आउने पर्यटकहरु बढी मात्रामा एकै समयमा धेरै गन्तव्य वा गतिबिधीहरुको स्वाद लिने प्रवृत्तिका हुन्छन् । कुनै मुख्य गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर अन्य गन्तव्य वा गतिबिधिहरुको आनन्द लिने गर्दछन् । तर, समस्या हाम्रो क्षेत्रको गन्तव्यबीचमा सहकार्यको कमी छ । आफ्नो क्षेत्रको एकल प्रचारमा लागिरहेका छौं । एकिकृत प्याकेज वा योजना बनाउन कहिल्यैं ध्यान दिएका छैनौं ।  

सुन्दा नराम्रो लाग्न सक्ला ! यतिसम्म कि, कुनै स्थानमा ‘भ्यु टावर’ निर्माण गरिएको छ र उक्त स्थानमा स्थानीय अवलोकनकर्ताको भिड देखियो भने पर्यटक त यसरी पो घुइँचो लाग्ने रहेछ भनेर हामी आफ्नो क्षेत्रमा ‘भ्यु टावर’ निर्माण गर्न तर्फ हत्त न पत्त लाग्छौं । कुनै सभा सम्मेलनमा पर्यटनको राम्रै व्याख्या गर्न सक्षम छौं । तर, कुन गतिमा हामी आफ्नो क्षेत्रको पर्यटनको विकास गर्न चाहन्छौं त्यो कहिल्यैं विचार पुर्याउदैनौं । स्थानीय निकायहरुले पनि आफ्नो क्षेत्रको पर्यटन विकासका लागि भनेर मनग्य बजेट विनियोजित गरेको देखिन्छ । तर, उनीहरुले कहिल्यै छिमेकी निकायहरुसँग छलफल गरेका छन् भन्ने लाग्दैन । 

सबै आ–आफ्ना तरिकाले एकल विकासमा लागिरहेका छन् । जसले आफ्नो नगरको आवश्यकता त पूर्ति हुन्छ । तर, सिंगो क्षेत्रलाई एकै नजरबाट हेर्दा बेमेल देखिन्छ । पर्यटकले खोजिरहेका कति चिज छुटिरहेका हुन्छन् भने कतै सोही प्रकृतिको चिजहरु दोहोरिरहेका हुन्छन् । जुन पर्यटकका लागि महत्व हुदैन ।   

प्रदेश नं. १ मा चर्चित र सम्भावित गन्तव्यहरु प्रशस्त छन् । अहिलेको अवस्थामा पूर्वाधारमा लगानीको खाँचो छ । कतै सरकारले नै पूर्वाधार बनाउन जरुरी छ भने कतै नीजि क्षेत्रलाई प्रोत्साहित गर्दा मात्र पनि पुग्छ । यसका लागि प्रदेशले स्थानीय निकायहरुसँग सहकार्य गरी नीति तथा कार्यक्रम बनाउने र आफ्नो प्रदेशको रुपरेखा सोहीअनुरुप बनाउन केही निश्चित मापदण्ड तोकेर स्थानीय निकायको कार्यक्रम पनि निर्माण गर्न सहजीकरण गर्न सकिन्छ । यसो हुँदा सबै स्थानीय निकायबीचमा तालमेल हुन्छ । सबै नगरले आफ्नो स्थानको मौलिकता र अनुकूलताअनुसार कार्यक्रम र पूर्वाधार निर्माण गर्छन् । जसले एकै प्रकृतिका चिजलाई नदोहोरिन भूमिका खेल्दछ । यसो हुँदा ‘थिम’अनुसार धेरै ‘भेराइटिज’हरु पर्यटकमाझमा पस्किन सक्षम हुनेछौं । अनि अब ढुक्का साथ भन्न सक्छौं पर्यटनका लागि सँगसँगै । 

एलिना मगर पर्यटन व्यवसायी हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *