इट्टा भट्टाका बालबालिकालागि खैरहनीमा युवा स्वयमसेवक शिक्षक नियुक्त

 मंसिर ८, चितवन ।   इट्टा भट्टामा काम गर्ने मजदुरहरुका छोराछोरीको अध्ययनका लागि चितवनको खैरहनी नगरपालिकाले युवा स्वयम सेवक शिक्षक नियुक्त गरेको छ । 

 नगरपालिकाको वडा नम्वर २,३ र ४ मा रहेका इट्टा भट्टामा कार्यरत मजदुरका छोराछोरीको शिक्षाका लागि ३ जना युवा स्वयम सेवक शिक्षक नियुक्त गरेको हो । यि तीन वडामा त्यस्ता मजदुरका १ सय ७ जना बालबालिका रहेका छन् । उनीहरु खैरहनी २ को राष्ट्रिय आधारभूत विद्यालय पहिटानी र खैरहनी ३ को चण्डी राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत छन् ।  

उनीहरुको अध्यापनका लागि पटिहानीमा २ जना र चण्डी आधारभूत विद्यालयमा १ जना युवा स्वयम सेवक शिक्षक नियुक्त गरिएको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले जानकारी दिए ।  इट्टा भट्टामा काम गर्ने मजदुरका छोराछोरी मध्ये पटिहानीमा ७७ जना र चण्डी आधारभूत विद्यालयमा ३० जना अध्ययन गर्दै आएका छन् ।  

उनीहरुको शिक्षाका लागि खैरहनी नगरपालिकाले कक्षा कोठा, फर्निचर, शिक्षकको व्यवस्थापन गरेको छ भने इट्टा भट्टा उद्योगहरुले खाजाको व्यवस्था गर्ने, युथ क्लव नारायणगढले पोशाक,स्टेशनरीको व्यवस्थापन गर्ने सहमती भएको स्थानीय शिक्षा अधिकारी पौड्यालले बताए । तत्काललाई ३ महिनाको लागि नियुक्ती पाएका युवा स्वयम सेवक शिक्षकहरुले मासिक १० हजार रुपैया पाउँनेछन् । आवश्यकता अनुसार उनीहरुको म्याद थप हुन सक्ने पौड्यालको भनाई छ ।  

आईतबार खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले युवा स्वयम सेवक शिक्षकलाई नियुक्ती पत्र हस्तान्तरण गरे । सो अवसरमा मेयर चौधरीले इट्टा भट्टामा काम गर्ने मजदुरका छोराछोरीहरु व्यवस्थापनको काम चुनौतीको रुपमा रहेको भन्दै उनीहरुको शिक्षा पाउँने अधिकारलाई नगरपालिकाले स्थापित गर्न प्रयास गरेको बताए । इट्टा भट्टामा रहेका वालवालिकाहरु व्यवस्थापन चुनौतीपूर्ण छ मेयर चौधरीले भने – जटिल मुद्या भएकाले साझा रुपमा लिनु पर्छ । उनीहरु कुन ठाउँबाट आएको, आएको ठाउँबाट कति महिना अध्ययन गरेको सवै विवरण लिएर यहाँको शिक्षालाई अगाडी बढाउनु पर्ने मेयर चौधरीले बताए । 

 इट्टा भट्टामा काम गर्ने मजदुरहरु सिजन अनुसार काम गर्न आउने भएकाले उनीहरुका छोराछोरीको पढाईमा असर पर्दै आएको छ । ति बालवालिकाहरु मजदुरकै रुपमा काम गर्ने अवस्थाको अन्त्य गर्न पनि खैरहनी नगरपालिकाले अपनत्व लिएर युवा स्वयम सेवक शिक्षक नियुक्त गरेर अध्ययन सुरु गरेको मेयर चौधरीले बताए । 

खैरहनी नगरपालिकाले यस वाहेक कुनै पनि शिक्षक बिरामी विदा वस्दा र सुत्केरी विदामा वस्दा पठनपाठनमा समस्या नहोस भनेर दुई जना युवा स्वयम सेवक शिक्षक नियुक्त गरिसकेको छ । युवा स्वयम सेवक शिक्षकका लागि पहिलो चरणमा २२ जना सुचीकृत भएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =