वर्तमान अग्नि–परीक्षामा सरकार अनुत्तीर्ण हुन खोज्दै छः नेपाल लोकतान्त्रिक पार्टी

कार्तिक २४, काठमाडौं । नेपाल लोकतान्त्रिक पार्टीले नेपालको सीमाक्षेत्रभित्र रहेको लिपुलेकसहितको कालापानी सुगौली सन्धिपश्चात् पनि नेपालकै भूभाग रहेको भन्दै सबै भूभाग सुरक्षित हुनुपर्ने बताएको छ ।   

भगवान् श्रीरामकी आह्लादिनी शक्ति भगवती जानकी एवम् राजकुमारी भृकुटीको वैवाहिक सम्बन्धले छिमेकी मित्रराष्ट्र भारत र चीनले नेपालप्रति गरेको कुटुम्बभावपूर्ण सुमधुर सम्बन्ध भएको स्मरण गराउँदै नेपाल लोकतान्त्रिक पार्टीले नेपालको सम्पूर्ण भूभाग नेपालकै मानचित्रमा सुरक्षित हुनुपर्ने बताएको हो ।   

‘२०१८ को राष्ट्रिय जनगणना हुँदै स्थानीय स्तरको निर्वाचनले समेत लिपु लेकसमेतको कालापानीदेखि पूर्वका भूमि नेपालकै भन्ने प्रमाणित भइरहेको छ । गौरवशाली नेपाल भारत र चीनका तुलनामा आकारले सानो छ तर ज्ञान, शक्ति, धीरता र वीरताले सबल थियो, छ र रहिरहनेछ । छिमेकी मित्रराष्ट्रहरूले निर्लोभ भूमिका निर्वाह गर्नेछन् भन्नेमा हाम्रो पार्टीले विश्वास लिएको छ’, पार्टीकी कार्यवाहक अध्यक्ष गीता क्षेत्री राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   

पौराणिक काल र ऐतिहासिक युगले मात्र नभइ नेपालको मानचित्रबाट लिपुलेकसहितको कालापानी हट्दाखेरि वर्तमान र भविष्यमा भोग्नुपर्ने सम्भावित पीडाबाट मुक्त हुनका लागि मित्रराष्ट्र भारतले तत्काल उसको मानचित्रलाई यथारूपमा प्रकाशित गराउनुपर्ने पार्टीको भनाइ छ ।   

‘दुःखका साथ भन्नै पर्छ—नेपाल सरकार वर्तमान अग्नि–परीक्षामा अनुत्तीर्ण हुन खोज्दै छ । जन–उत्तरदायी सरकारले आकस्मिक रूपमा मन्त्रिपरिषद् एवम् राज्य–संयन्त्रका सरोकारवाला निकाय सुरक्षा, नापी–विभाग आदिका प्रमुखहरूको बैठक डाक्नुपथ्र्यो । व्यापक र गम्भीर छलफल गरी आधिकारिक धारणा बनाउनुपथ्र्यो’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त धारणालाई तत्काल सर्वदलीय बैठकमा प्रस्तुत गरेर राष्ट्रिय सहमतिका आधारमा ठोस र परिणाममुखी कदम चाल्नुपथ्र्यो । विडम्बना नै भन्नुपर्छ—सडकमा स्वस्फूर्त रूपले जनता उर्लिन थालेपछि दु्ईतिहाइ मतको बलवान् सरकार निरीहतापूर्वक झारा टार्ने शैलीको वक्तव्य दिएर पन्छिन खोजेको छ ।’ 

साथै पार्टीले अविलम्ब राष्ट्रिय सहमति र सहकार्यको बलमा सार्थक किसिमको राजनैतिक तथा कूटनैतिक कदम चाल्न आग्रह गरेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *