प्रहरीदेखि राजनीतिक दलसम्मका नक्कली कागजात बनाउने ३ जना पक्राउ

मंसिर १३, काठमाडौं । प्रहरीदेखि राजनीतिक दलसम्मका कागजात कीर्ते गर्ने ३ जना पक्राउ परेका छन् ।   

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बिहीबार ओखलढुंगा जिल्ला रानीवन–७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका–९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन जिल्ला रत्ननगर–१६ पिठुवा स्थायी ठेगाना भई हाल सिनामंगल बस्ने ३४ वर्षीय अमृत सुर्खेतीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे ।  

उनीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गर्ने गरेको अनुसन्धानमा खुल्न आएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।   

प्रहरीले उनीहरुको साथबाट प्रहरी प्रधान कार्यालयमा तयार भएको प्रहरी रिपोर्टहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, प्लस टूका एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाणपत्रहरु, विभिन्न विद्यालयका मार्कसिटहरु, महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगुम कुँवरको कीर्ते हस्ताक्षरसहितको लेटर प्याड बरामद गरेको छ ।  

सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गर्छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् । उनीहरुलाई फोटो स्टुडियोबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।  

स्टुडियो खोलेर कीर्ते कागजपत्र बनाएको पाइएको एसपी पाण्डेले जानकारी दिए । थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *