हस्ताक्षर नक्कल गरी अर्काको खाताको पैसा निकाल्ने ६ जनाकाे नाम सार्वजनिक

मंसिर ११, काठमाडौँ । बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक पाँचखाल घर भइ हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय अञ्जन बराल, बागलुङ लगकोट नगरपालिका घर भइ काठमाडौँको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे घर भएका हाल काठमाडौँ सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।
उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, विभिन्न बैङ्कहरुको ठूलो परिणाममा चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआइसी बैंकका भिषा कार्ड, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी, प्रयोग भएका हस्ताक्षरका नक्कलहरु बरामद गरिएको छ ।

उनीहरुलाई प्रहरीको विशेष अप्रेसनले पक्राउ गरेको हो ।
गत मङ्सिर ८ गते जनता बैङ्कका खातावाल गोपालमान राजवहाकले आफ्नो खाताबाट पटक–पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइलमा म्यासेज आएपछि प्रहरीलाई उजुरी गरेका थिए । सोहि उजुरी पछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरुलाई पक्रन सफल भएको हो ।
गोपालमानको उजुरीपछि सूचना प्राप्त गर्ना साथ परिसरको विशेष टोलीले सम्बन्धित बैङ्कका उच्च पदाधिकारीसँग छलफल गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
पीडितको खाता जाँच गर्दा पीडितलाई दिएको चेकबुक बाहिरबाट नयाँ चेकबुक निकाल्न सफल भइ नयाँ चेकबाट पैसा निकाल्न सफल भएको पाइएको थियो ।
मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकेर एक जना व्यक्ति जनता बैङ्क न्युरोड शाखामा पुगेको सूचना प्रहरीले पायो । त्यसपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी थप सोधपुछ पछि संगठित बैंकिङ अपराध खुल्न आएको थियो । उनीसहित थप ५ पाँच जनालाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
महानगरीय प्रहरीका अनुसार ६ जनामाथि बैङ्किङ कसुरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका अभियुक्तहरुले बैङ्कमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाई लाखौँ रुपैयाँ निकाल्न सफल भएको प्रहरीको भनाइ छ ।
‘अनुसन्धानमा उनीहरुले अरुको बैंक खातामा रहेको हस्ताक्षर चोरी गरी, बैंकमा चेक समेत हराएको निवेदन दिएर नयाँ चेक निकाल्ने र हस्ताक्षर मिलाई चेक साट्ने गरेको पाइयो ।’ परिसरका प्रवक्ता बोगटीले भने ।
बैंकका कर्मचारीको समेत संलग्नताको आशंका
उनीहरुले कयौँ व्यक्तिहरुको नाममा रहेको खाताको सयौँ थान सक्कली चेकसमेत लिन सफल भएको देखिएको छ । भने, सो खातावालहरुको सक्कली भिषा कार्डसमेत बनाइ प्रयोगमा ल्याएको देखिएको छ । यस कार्यमा सम्बन्धित बैङ्कका कर्मचारीहरुको मिलोमतो तथा लापरवाही समेत देखिएको छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘उनीहरुले हालसम्म कति रकम झिक्न सफल भए भन्ने सम्बन्धमा सम्बन्धित बैङ्कहरुसँग बुझ्ने तथा अनुसन्धान गर्ने काम भइरहेको छ ।’ प्रवक्ता बोगटीले बताए । यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।








