‘१३ औं साग नेपालको इतिहासमै भब्य रुपमा सफल हुन्छ, हामी दोस्रो स्थानमा आउँछौं रिजल्ट हेर्न मात्र बाँकी छ’

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको चटारो छ । यहि मंसिर १५ गतेबाट काठमाडौं, पोखरामा हुने प्रतियोगितालाई भब्य साथ सम्पन्न गर्न उनी दिनरात लागिपरेका छन् ।   

प्रतियोगिता आउन ११ दिन मात्र बाँकी रहँदा पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्तीले शंशय पैदा भएपनि सिलवाल भने प्रतियोगिता अहिलेसम्मकै भब्य र सभ्य हुने दावि गर्दछन् । उनी यस पटक नेपालले दोस्रो स्थान हासिल समेत गर्ने दावि गर्छन् । सागको तयारी, र नेपालले प्राप्त गर्ने उपलब्धीका विषयमा सदस्य सचिव सिलवालसँग केशब सापकोटाले गरेको कुराकानीको संक्षेपः   

१३ औं साग शुरु हुन ११ दिन मात्र बाँकी छ तयारी कत्तिको भइरहेको छ ?   

दक्षिण एशियाली राष्ट्रहरुको खेलकुदको महाकुम्भ ‘साग’को तयारी तिब्र रुपमा भइरहेको छ । मुलतः अधिकांश काम सकिएर तीन वटा काम अन्तिम चरणमा पुगेको छ । सातदोवाटोको स्विमिङ पुलको काम ७–८ गते सकिन्छ । रंगशाला निर्माणको काम पनि ९ गतेभित्र सक्ने गरी काम भइरहेको छ । पोखराको रंगशालामा दुबो लगाउने काम सम्पन्न भइसकेको छ । ट्रयाक एण्ड फिल्डको काम सम्पन्न भइसकेको छ । हिजोबाटै प्यारापिट जोड्ने कामपनि भइरहेको छ । ५ दिन भित्र ५५ सय कुर्सी जडान भइसक्छ । बाँकी शुक्रबार कन्टेनरहरु आउँदैछन् । ११–१२ गते भित्र सबै प्यारापिट तयार भइसक्छ ।   

दशरथ रंगशाला निर्माणको अन्तिम तयारीमा छ । अबको एक हप्तामा प्यारापिट तयार हुन्छ । १० हजार कुर्सीहरु राखिइसकिएको छ । अन्य ब्यवस्थाकीय तयारी अन्तिम चरणमा छ । खेलाडी दर्ता भइरहेका छन् । २० नोभेम्बर राती १२ बजेपछि अन्तिम नामावली आउँछ । 

पूर्वाधार निर्माणमा हतारहतार काम गर्दा गुणस्तरीयतामा प्रश्न उठ्दैन, कमसल काम भयो भने पछि समस्या आउला ?   

हतारमा गर्दा कमसल हुने फुर्सदमा गर्दा बलियो हुने हैन । रंगशालामा प्रयोग गरिएका कुनैपनि सामान कमसल छैनन् । खाली अहिले भइरहेका कामहरु हाम्रा लागि नयाँ हुन् । त्यसलाई ब्यवस्थित गर्नुपर्ने भएकोले समय लागेको मात्र हो ।   

भोली रंगशाला निर्माण गरिसकेपछि निर्माण गरेको संरचना कोल्याप्स नहोस् भन्ने कुरामा पूर्ण सचेत छौं । कुनै घटना दुर्घटना नहोस भनेर म आइकन तीन पटक रेट्रोफिटिङ गरेर अनुगमन समेत गरिसकेको छु । बाहिरबाट हेर्दा समय लागेपनि भविष्यको लागि समेत दृष्टिगत गरेर काम भएको छ ।   

१३ औं संस्करणको सागलाई राष्ट्रिय गौरबको प्रतियोगिता भनिएको छ, के मानेमा राष्ट्रिय गौरबको प्रतियोगिता मान्ने ?   

सात राष्ट्रहरुको प्रतियोगिता भएकोले यो आफैंमा गौरबको प्रतियोगिता हो । सातै देशका पाँच हजार बढि खेलाडी र यो क्षेत्रमा रहेका २ अर्ब जनसंख्याको प्रतिनिधित्व हुने भएकोले यो प्रतियोगिता धेरैभन्दा धेरै जनसंख्यासँग पुग्नेछ । साग नेपालबाटै शूरु भएकोले यो राष्ट्रको इज्जत प्रतिष्ठासँग पनि जोडिएको छ । प्रतियोगिता भब्यरुपमा सम्पन्न भइसकेपछि विश्वमा नेपाल पनि अन्तराष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न सक्षम छ भनेर पोजेटिभ म्यासेज जान्छ ।   

अहिले हामी भिजिट नेपाल २०२० को तयारीमा पनि छौं । प्रतियोगितामा दक्षिण एशियाली राष्ट्रका खेलाडीहरु र खेलप्रेमीहरुको प्रतिनिधित्व हुने भएकोले खेलकुदको माध्यमबाट हाम्रो कला, संस्कृति र इतिहासलाई विश्व सामु पुर्याउन प्रतियोगिताले ठूलो टेवा दिनेमा विस्वस्त छौं । यस मानेमा यो प्रतियोगिता हाम्रो लागि राष्ट्रिय गौरबको प्रतियोगिता हो । सार्क राष्ट्रहरुको एकता, भाइचारा र मित्रतालाई खेलको माध्यमबाट प्रतिष्पर्धा गराउन यसको महत्व छ ।   

यस पटक हामीले केहि नयाँ कुरा पस्किने योजना बनाइरहेका छौं । सागकै इतिहासमा पहिलो पटक प्रतियोगिताका सबै इभेन्टहरु १५ वटा इन्टरनेशनल च्यानलबाट प्रत्यक्ष प्रशारण हुँदैछन् । भने, यसपटकको प्रतियोगितामा हाम्रो कला संस्कृति, क्लासिकल र नयाँ हाइटेक प्रविधिलाई फ्युजन गरेका छौं । प्रतियोगितामा करिब डेढ सयदेखि २ सय ड्रोनहरु उडाउने छौं । लेजरलाइटको प्रयोग हुन्छ । इलेक्ट्रिफिकेशन र ब्यूटिफिकेसन फ्युजनमा गइरहेका छौं । यो प्रस्तुतिले नेपाल अन्तराष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सक्षम छ भनेर प्रमाणित पनि हुन्छ ।   

तपाईको नियुक्ति नै साग सम्पन्न गर्नुपर्छ भनेर थियो । तर, हामीसँग एउटा पनि सुविधा सम्पन्न रंगशाला नभएकोले चुनौति छैन ? 

मेरो नियुक्ति सागकै लागि भन्दापनि समग्र खेलकुदकै विकासको लागि हो । तथापि, बारम्बार सर्दै गएको सागलाई मंसिर १५ मै सम्पन्न गर्नु मेरो लागि ठूलो चुनौति थियो । त्यो चुनौति सामना गर्न सक्छु भनेरै म आएको हुँ । पूर्वाधारका सवालमा तपाईको कुरा ठिक भएपनि हामी आजको भोली गर्न सक्ने अवस्थामा छैनौं ।   

अहिले हामीसँग भएका पूर्वाधार यो प्रतियोगिता गर्न सक्षम छ । जति बढि भयो त्यत्ति राम्रो हो । सातै प्रदेश, ७७ वटै जिल्लामा आधुनिक पूर्वाधार बनाउन पाए झन राम्रो । तर, हाम्रो देशको बजेट पनि हेर्नुपर्छ । मेरो चार वर्षे कार्यकालमा कम्तिमा ७ वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरका पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छु ।   

सागका लागि बाहिरबाट आउने खेलाडीको ब्यवस्थापन र स्वागतको लागि कस्तो तयारी भइरहेको छ ?   

विदेशबाट आउने खेलाडी अफिसियलहरु हाम्रा पाहुना भएकोले उहाँहरुको स्वागत सत्कारका लागि हामीले विशेष तयारी गरेका छौं । एयरपोर्टमा नेपाली शैलीले स्वागत गर्ने र  त्यहाँबाट फास्ट ट्रयाकबाट होटलहरु सम्म पुर्याउने ब्यवस्था गरिसकेका छौं । होटलबाट खेलकुद स्थलसम्मको यातायातको ब्यवस्था गरिसकेका छौं । राजधानीका १ सय वटा होटलहरु बुक भइसकेका छन् । नोभेम्बर २० को राती १२ बजेसम्म खेलाडीहरुको नाम रजिष्ट्रेशन गर्ने समय छ । सबै नामहरु आइसकेपछि कुन–कुन खेलाडी र अफिसियललाई कहाँ राख्ने फाइनल गर्नेछौं । सुरक्षाका लागि करिब २२ हजार सुरक्षाकर्मी तैनाथ गर्नेछौं ।   

नेपाली खेलाडीहरुको तयारी कम भयो, विदेश प्रशिक्षणमा गएकाहरुसँग समय कम भयो भन्छन् नी ?   

कसरी कम भयो ? १३ वटा गेमको असार अगाडी देखि नै प्रशिक्षण भइरहेको छ । साउनको पहिलो हप्ताबाट सबै खेलको तयारी शुरु भएको छ । ५ महिनाको तयारी भनेको कम हैन । होला यसलाई १ वर्ष बनाउन पाएको भए झनै राम्रो हुन्थ्यो । तर, लामो अवधि प्रशिक्षण गर्दैमा रिजल्ट राम्रो आउँछ भन्न सकिँदैन ।   

नेपालमा नेपाली कोचबाट प्रशिक्षण गराइरहेका छौं, विदेशी प्रशिक्षक पनि ल्याएका छौं । संघ र प्रमुख प्रशिक्षकसँग छलफल गरेर आवश्यक खेलाडीलाई विदेशमा पठाएका छौं । विदेशमा प्रतियोगितामा भाग लिएर प्रतियोगिता जितेका उदाहरण पनि छन् । थाइलेण्ड गएको महिला भलिवल टोलीले १५ वटै खेल जितेर स्वर्ण पदक ल्यायो । भारोत्तोलन २ महिनामा २ पटक भयो, पहिलो पटक ३४ रेकर्ड ब्रेक भयो, दोस्रो पटक ४२ रेकर्ड ब्रेक भए । बंगलादेशमा भएको कराते र तेक्वाण्डोमा राम्रो मेडल लिएर आए । यस पटक सागको तयारीमा हामीले कुनै कसर बाँकी राखेका छैनौं ।   

यस पटकको सागमा नेपालले कुन पोजिसन ल्याउला ?   

यस पटक हाम्रो तयारी, खेलाडीहरुको मेहनतले हामी सागमा दोस्रो स्थानमा आउन सक्छौं ।   

प्रथम स्थानमा आउन के चुनौति छ ?   

नेपाललाई सागमा पहिलो स्थानमा आइपुग्न धेरै वर्ष लाग्छ । १२ औं सागसम्म भारतले प्रथम स्थान हासिल गर्दैछ । १३ औं सागमा  प्रथम हुन्छौं भन्ने हामीलाई छैन । हामी भन्दा भारतको स्तर धेरै माथि छ । कुनै खेलमा हामी भारत भन्दा माथि हौंला तर, समग्र प्रतियोगितामा भारतको स्तर दक्षिण एशियामै राम्रो छ ।   

आठौं सागमा नेपालले ल्याएको रिजल्ट भन्दा यस पटकको रिजल्ट कस्तो रहला ?   

आठौं सागमा हामीले ३१ वटा स्वर्ण जितेका थियौं । यस पटक न्यूनतम ५० स्वर्ण जित्ने लक्ष्यका साथ अगाडी बढेका छौं ।   

नेपालले पदक जित्न सक्ने कुन–कुन खेलहरु छन् ?   

विगतमा पनि हामीले मार्सल आर्टबाट बढि पदक जितेका छौं भने, यस पटक पनि मार्सल आर्ट बाटै पदक जित्नेमा आशा गरेका छौं । तेक्वाण्डो, कराँते, उसु, बक्सिङ, भारोत्तोलनमा हामीले आशा गरेका छौं ।   

लोकप्रिय भएका खेलहरुमा नेपालको प्रतिष्पर्धा खस्किनुको कारण के हो ?   

हाम्रो खेलहरु खस्किएका हैनन्, अन्य राष्ट्रहरुले राम्रो गरेका हुन् भन्छु म । स्विमिङ हाम्रोमा ढिलो सुरु भयो तर, राम्रो नतिजाहरु आएको छ । धेरै रेकर्ड ब्रेक भएका छन् । यदि हामीले धेरै अगाडी शुरु गरेको भए स्विमिङमा आशा गर्न सकिन्थ्यो । 

स्वर्ण पदक ल्याउन नसक्नु एउटा कुरा हो, खस्किएको भन्नु अर्को कुरा हो । नेपालको खेल स्तर खस्किएको छैन । माथि नै उठेको छ । ग्रुप गेममा पनि राम्रो भइरहेको छ । महिला फुटवल, पुरुष फुटवल, भलिवलमा राम्रो भइरहेको छ ।   

सागकै मुखमा फुटवल खेलका ४ जना खेलाडीलाई अनुशासनको कारवाही भयो, यसले फुटवल खेलमा असर गर्दैन ?   

खेलाडीलाई अनुशासनको कारवाही गर्नु सामान्य हो, यो ठूलो कुरा हैन । नाम चलेका खेलाडीहरुले अनुशासनमा बस्नु नपर्ने हुँदैन, त्यस्ता खेलाडीले त झन अनुशासनमा बस्नुपर्छ । सभामुखलाई छुट दियो र कानुनले ? खेल आफैं अनुशासन हो खेलाडी त अनुशासनमा बस्नै पर्छ । 

अन्तमा, आम जनता र खेलाडीलाई के भन्नु हुन्छ ?   

१३ औं साग नेपालको इतिहासमै राम्रो र भब्य रुपमा सफल हुन्छ । यसमा हाम्रो बलबुताले भ्याएसम्म लागि परेका छौं । उद्घाटन, समापन समारोहदेखि प्रतियोगिता गर्नेसम्ममा हाम्रो तयारी तुलनात्मक रुपमा राम्रो छ । अहिलेको जस्तो तयारी विगतमा भएकै थिएनन् । अब खाली रिजल्ट हेर्न बाँकी छ ।   

साग खेलका लागि हामीले मात्र तयारी गरेका छैनौं अन्य ६ राष्ट्रलेपनि उत्तिकै गरेका छन् । कुन देशले कस्तो गरे त्यो रिजल्ट आएपछि मात्र थाहा हुन्छ । प्रतियोगिता भब्य हुन्छ । मंसिर २४ पछिपनि म यहीँ हुन्छु । तपाईहरुले मुल्यांकन गरिदिनुस । राम्रो भए राम्रो भन्नुस नभए सुधार गर्न सल्लाह दिनुस । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =