जेसिजको राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा हुँदै

मंसिर ११, चितवन । नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशन पुषको दोश्रो साता चितवनको रत्ननगरमा हुने भएको छ । रत्ननगर जेसिजको आतिथ्यतामा हुन पुष ९ गतेदेखी १२ गते सम्म महाधिवेशन हुन लागेको हो । महाधिवेशनको ३ दिन पछि नेपाल भ्रमण वर्ष सुरु हुने भएकाले महाधिवेशनले भ्रमण वर्षलाई टेवा पुग्ने विश्वास लिईएको छ ।
रत्ननगर जेसिजले महाधिवेशनका बारे बुधवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । देशभरबाट करिव ३ हजार जनाको उपस्थिती रहने सो महाधिवेशनको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेशनका महासचिव निरज श्रेष्ठले जानकारी दिए ।
७७ जिल्लामा १ सय ५१ वटा जेसिजका शाखा रहेका छन् । महाधिवेशनले राष्ट्रिय अध्यक्ष, ४ जना कार्यकारीणी उपाध्यक्ष, १२ जना उपाध्यक्षसहित कार्यसमिति चयन गर्नेछ । हाल सम्म अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको महाधिवेशनका महासचिव श्रेष्ठले बताए । त्यस्तै ४ जना कार्यकारीणी उपाध्यक्षका लागि १२ जना तथा १२ जना उपाध्यक्षका लागि २३ जनाको उम्मेदवारी परेको उनले बताए । महाधिवेशनका लागि कुल १ करोड ५० लाख खर्च हुने अनुमान गरिएकोमा सहभागीहरुले ५ हजार ५ सय सम्म शुल्क बुझाउनु पर्नेछ । अन्य श्रोत दाताहरुबाट संकलन गरिने आयोजकले बताएको छ ।

महाधिवेशनमा युवा सम्मानदेखी मिष्टर एण्ड मिस जेसि प्रतियोगिता समेत आयोजना गरिने छ । विभिन्न विधाका उत्कृष्ठ ५ जना युवाहरुलाई राष्ट्रिय युवा सम्मान गरिनुका साथै जेसिहरुको प्रतिभा प्रष्फुटनका लागि मिष्टर जेसी तथा मिस जेसी प्रतियोगिता हुने रत्ननगर जेसिजका अध्यक्ष सुवास पोखरेलले बताए ।
रत्ननगरको होटल स्टार व्यांक्योटमा हुने गर्न लागिएको महाधिवेशन स्थानीय आर्थिक,सामाजिक तथा संस्कृतिको विकासमा टेवा पुर्याउने, आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने, युवाहरुको क्षमता अभिवृद्धी एवंम व्यवसायिक वातावरण निर्माण गर्ने, राष्ट्रिय रुपमा रत्ननगरको पहिचान गराउने,नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पूर्ण सफलताका लागि अभियान प्रारम्भ गर्ने उदेश्यका साथ महाधिवेशन गर्न लागिएको महाधिवेशका निर्देशक पुष्पराज जोशीले बताए ।








