‘म उभिनु भनेको नै कालोबजारी सतर्क हुनु हो’

काठमाडौं, १० मंसिर । मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउनेगरि आफूले काम गर्ने नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउनेपनि उनको दाबी छ ।
मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने,‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नको लागि दत्तचित्त भएर लागिरहेका छौं ।’ मुलुक औद्योगीकरणको बाटोमा गैसकेको उनको भनाई छ । उनले भने,‘कृषि, पर्यटन सबैलाई उद्योगको रुपमा विकास गर्छौं । कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यहीअनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’
उनले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको पनि सुनाए । ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’–उनले भने ।

त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । ‘औद्योगीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भैरहेको छ । कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन् ।’ उनले भने । पछिल्लो समय मुलुकको व्यापार घाटा कम भैरहेको सुनाउँदै यत्तिमा नै आफूहरुले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको उनको भनाई छ ।
उनले मुलुकमा औद्योगीकमैत्री वातावरण बनाउनको लागि आफ्नो पहिलो काम हुनेपनि विश्वास दिलाए । उनले भने,‘औद्योगिकमैत्री वातावरण बनाउन सकियो भने मुलुकमा आन्तरिक र बाहृय पुँजी आकर्षण हुन्छ । म त्यो काममा लागिरहेको छु । पछिल्लो समय बाहृय पुँजीपनि देशमा आकर्षण भैरहेको छ ।’ उनले स्थानीय तहमा छरिएर रहेका ग्रामोद्योगलाई अब एकै ठाउँमा ल्याएर व्यवस्थित् गर्ने आफ्नो योजना रहेको पनि सुनाए ।
त्यस्तै, उनले केही नयाँ औद्योगिक क्षेत्रपनि घोषणा भएका र केही घोषणा हुने क्रममा रहेको सुनाए । मन्त्री भट्टले दुई मुलुकसँग बन्दरगाहा र नाका खोल्ने कामपनि भएको सुनाए । ‘हाम्रो राज्यमन्त्री औद्योगिक क्षेत्रकै व्यक्तित्व हुनुहुन्छ, हामी सामूहिक छलफल र निर्णयमा जान्छौं ।’
उनले जनताका चाहना पूरा गर्नतर्फ आफ्नो मन्त्रालय दत्तचित्त भएर अघि बढ्नेपनि विश्वास दिलाए । राज्यमन्त्री मोतिलाल दुगडको बारेमा आएका कुरा आफूलाई त्यति ठूलो नलागेको उनको प्रतिक्रिया छ । उनले भने,‘हामी सहकार्य गरेर जान्छौं । उहाँको बारेमा आएका कुरा ठूलो हो भन्ने मलाई लाग्दैन ।’
उनले आफू धेरै कुरा गर्नेभन्दापनि काम गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘म काम गर्ने मान्छे हुँ । मेरो क्षमता र तागतअनुसार यो देशलाई समृद्ध बनाउने दिशातर्फ अघि बढ्छु ।’
उनले निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारेपनि आफूहरुले अध्ययन तथा अनुसन्धान गरिरहेको बताए । उनले भने,‘सरकारी उद्योगहरु हाम्रो हो भन्ने भावना नै भएन । व्यवस्थापनमा बसेकाहरुको व्यक्तिगत स्वार्थ लुकेको देखियो । व्यवस्थापनमा बसेकाहरुले सरकारी उद्योगपनि हाम्रो हो भन्ने भावनासहित अघि बढ्नुपर्छ ।’
नेपाललाई कृषिलगायत अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउनको लागि पर्याप्त पहल भैरहेको पनि उनले सुनाए । उनले भने,‘अहिले हामीले चामल धेरै आयात गरेका छौं । चामलमा आत्मनिर्भर हुनको लागि धान जोन अघि सारिएको छ । यो कुरा प्रदेशका कृषि मन्त्रालयहरुले पनि प्रभावकारी रुपमा कार्यान्वयनमा लागेका छन् । धानजस्तै मकै, आलु, प्याजलगायतमा पनि आत्मनिर्भर हुने योजना छ ।’
उनले तरकारीमा धेरैजसो आत्मनिर्भर भैसकेको पनि दाबी गरे । नेपालमा केहीपनि हुँदैन भन्ने मनोविज्ञान अब बदल्न जरुरी रहेको उनको टिप्पणी छ । उनले भने,‘त्यो चिन्तन बदल्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउनेगरि काम गर्नुपर्छ ।’ यद्धपी कतिपयले विदेशमा सिकेका सीप र अनुभवलाई स्वदेशमा लगाई देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको पनि उनले सुनाए ।
मन्त्री भट्टले आफूले घरमा भैंसी पालेको सुनाए । उनले भने,‘मेरो घरमा भैंसी पालेको छु । घरमा दुध किन्नुपर्दैन । सबैले गाई, भैंसी पाल्नुपर्छ । यसो गर्न सकियो भने दुधमा हामी आत्मनिर्भर हुनेछौं ।’ उनकाअनुसार नेपाल सिमेन्ट, विजुली, माछा, मासु र छडमा आत्मनिर्भर भैसकेको छ । नेपालमै फलाम खानी रहेको कुरामा अनुसन्धान भैरहेको र यसको गुणस्तर परीक्षणको लागि चीन पठाईएको उनले सुनाए ।
केही वस्तुमा आत्मनिर्भर हुनासाथ मुलुकको अर्थतन्त्रमा ठूलो र सकारात्मक योगदान पुग्ने उनको विश्वास छ । उनले भने,‘म त निमित्त मात्रै हुँ, सबैले सकारात्मक भएर आफ्नो ठाउँबाट योगदान दिनुपर्छ ।’
उनले बजार अनुगमनको लागि पनि आफूले कडा कदम चाल्ने विश्वास दिलाए । उनले भने,‘बजार अनुगमन गर्ने हो । तर, अनुशासन स्थापित गर्ने कुरामा सबैले ईमानदारीपूर्वक लाग्नुपर्छ । राज्यले सधैं अनुगमन गरेरमात्रै पुग्दैन । हामी व्यवसायीहरुलाई जनता र देशप्रति उत्तरदायी बनाउने दिशामा लाग्नेछौं ।’ आफूले समस्या समाधानको लागि कडा कानून ल्याउने तयारी गर्न लागेको पनि उनको भनाई छ ।
अहिलेको अर्थतन्त्र खुल्ला भएकोले खुल्ला बजारलाई अनुगमन र नियमनको लागि के–कसरी अघि बढ्ने आफू अहिले छलफलमा केन्द्रित रहेको बताए । ‘बजारमा हुने अनियमितता, कालोबजारी र महँगी रोक्ने काममा हामी सफल हुनेछौं । तर, कमिकमजोरी सच्याउनको लागि हामी आग्रह गर्दछौं ।’ उनले भने । उनले आफ्नो कार्यकालमा उद्योगको क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा बढि योगदान पुर्याउने दाबी गरे ।
अहिले अत्यावाश्यक वस्तुमा मृल्यवृद्धि हुनुको कारण भने उत्पादनमै कमी भएकोपनि उनले सुनाए । ‘अहिले प्याज लगाउने सिजन छ । प्याजमा आत्मनिर्भर हुनको लागि हामी सबैले आफूलाई पुग्ने उत्पादन गरौं ।’ उनले भने । किसानहरुको उत्पादनलाई उचित मूल्य दिनेगरि आफूहरु छलफलमा जुटेको र सोहीअनुसारको संयन्त्र बनाउनेपनि उनको भनाई छ ।
उनले आगामी तीन वर्षसम्म नेपालमा चीनबाट पाईपलाईनमा तेल ल्याउनेपनि दाबी गरे । उनले भने,‘प्रधानमन्त्रीले विश्वास गर्नुभयो भने म तीन वर्ष अझै मन्त्रीको रुपमा रहन्छु, चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं ।’ उनले आफू उभिनु भनेको नै कालाबजारीहरु सतर्क हुनु भएको टिप्पणी गरे ।








