धरानमा उपनिर्वाचनको रौनकः तामझामका साथ उम्मेद्वारी दर्ता

कात्तिक २७, धरान । मंसिर १४ गते हुने स्थानीय तहको निर्वाचनमा आज उम्मेद्वारी दर्ता गर्ने दिन धरानमा रौनक छाएको छ । धरान उपमहानगरपालिकाको मेयर र एक वडा सदस्य पदका लागि सत्तारुढ दल, प्रमुख प्रतिपक्षसँगै केहि साना दलले समेत उम्मेद्वारी दर्ता गराएका छन् । 

सुनसरीको धरान बाम किल्ला हो । पञ्चायती शासन कालदेखि नै बामपन्थीले क्षेत्र नं. १ पकडमा राखिराख्दा यसपटक भने नेकपालाई लालकिल्ला जोगाउन केहि हम्मे पर्ने देखिएको छ ।   

यसपटकका उम्मेद्वार र पार्टीको सांगठनिक अवस्था हेर्दा धरानमा यसैले चुनाब जित्छ अनुमान गर्न सकिएको छैन ।  

  

आज उम्मेद्वारी दर्ता गर्न निर्वाचन कार्यालय जाँदा नेकपा र नेपाली कांग्रेसको पक्षमा देखिएको जनसमर्थनलाई मुल्यांकन गर्दा दुई विचको प्रतिष्पर्धा कडा हुने अनुमान मात्र गर्न सकिन्छ । 

धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका तिलक राई र नेपाल कम्युनिस्ट पार्टीका प्रकाश राई विच प्रतिष्पर्धा हुँदैछ । अन्य साना दलहरुको भूमिका निर्वाचनमा सहभाागिताका लागि मात्र भइरहँदा यहाँ भने दुई राई विचको प्रतिष्पर्धाले कसको पल्ला भारी होला भन्न सक्ने अवस्था देखिएको छैन ।   

विगतका निर्वाचनमा पनि एमाले, माओवादी हुँदै नेकपाले कांग्रेसलाई नै प्रमुख प्रतिष्पर्धी दल पाएको छ । नेकपाबाट चुनाबी मैदानमा उत्रिएका प्रकाश राई धरानको लागि परिचित नाम हो भने, नेपाली कांग्रेसका तिलक राईपनि परिचित नै हुन् ।  

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको समाजवादी पार्टीका तर्फबाट ब्रिटिस गोर्खा सैनिक संघ (गेसो) का पूर्वजिल्ला अध्यक्ष गजेन्द्र इस्वोलाई उम्मेद्वार बनाएको छ ।  उनीहरु सबै जना आज उम्मेद्वारी दिन तामझाम सहित निर्वाचन कार्यालय गएका छन् ।  

यसका साथै राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर ईजम, राप्रपा संयुक्तबाट कुमार बराईली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । 

धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा पदमा कांग्रेसले सुवर्णमोहन पालिखेलाई उम्मेदवार बनाएको छ भने नेकपाले जीवन सुवेदीलाई उम्मेदवार बनाएको छ । 

नेकपा धरानले आफ्ना उम्मेद्वार प्रकाश राईलाई तामझामका साथ निर्वाचन कार्यालय लगेको थियाे ।  भने, काग्रेसले पनि बाजागाजा र अबिरजात्रा गरी तिलक राईलाई नाम दर्ताका लागि लगेको थियाे । दुवै तर्फका नेता कार्यकर्ताहरु आआफ्ना पार्टीका झण्डा लिएर निर्वाचन कार्यालय गएका थिए ।   

नेकपाले आफ्ना जिल्ला, क्षेत्र र स्थानीय तहका नेता कार्यकर्ताहरुको लस्कर सहित प्रकाश राईलाई बजार परिक्रमा गराउँदै जिल्ला निर्वाचन कार्यालय गएको हाम्रा संवाददाता भरतराज शर्माले बताए । ‘धरानको उपनिर्वाचन दुई पार्टी नेकपा र नेपाली कांग्रेस केन्द्रित हुने देखिएको छ । आज उम्मेद्वारी दर्ता गराउन दुवै दलका उम्मेद्वारहरु विषेश र्याली सहित गएका छन् ।’ संवाददाता भरतराज शर्माले बताएका छन् ।   

दुवै दलले उम्मेद्वारलाई फुलमाला अविर लगाएर बाजागाजा सहित जिल्ला निर्वाचन कार्यालयको धरान स्थित कार्यालय पुगेका थिए । 

आयोगमा उम्मेद्वारको नाम दर्ता भएदेखि पार्टीहरुको अबको कार्य भनेको पार्टीको घोषणापत्र जनता माझ पुर्याउने र  नागरिकसँग मत माग्ने कार्य हुनेछन् । उपनिर्वाचन नै भए पनि धरानका उम्मेद्वारले यो निर्वाचनलाई प्रतिष्ठासँग गाँसेका छन् । 

०७४ सालको स्थानीय निकायको निर्वाचनको मत अवस्था हेर्दा धरानमा नेकपाकै वर्चस्व छ । त्यत्तिबेला नेपाली कांग्रेसका तिलक राईले स्वर्गिय तारा सुब्बासँग प्रतिष्पर्धा गर्दा करिब चार हजार भन्दा बढिको मतान्तरले पराजित भएका थिए । सो समयमा तिलक राईले १६ हजार २०२ मत ल्याउँदा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएका थिए ।   

तेस्रो स्थानमा रहेको नेकपाले पनि ११ हजार १८० मत ल्याएका थिए । यस पटक नेकपा र एमाले विच एकिकरण पश्चात नेकपा भएपनि धरानमा नेकपाको भोट स्वतः बढ्ने अनुमान गरिएको छ । तथापि, धरानमा यसपटक नेकपाले सर्वसम्मत उम्मेद्वार चयन गर्न नसक्दा पार्टी भित्रै अन्तर्घात हुने होकी भन्ने चुनौति थपिएको छ ।   

हेर्नुहाेस थप फाेटाेहरू, तस्विरः भरतराज शर्मा धरान  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =