सागकाे सम्पूर्ण तयारी पूराः मन्त्री भन्छन्– ‘नेपालले धेरै पदक जित्ने संकेत देखाइसक्यो’

मंसिर १२, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।   

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भइसकेको जानकारी गराएका हुन् ।  

मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिले सागको उद्घाटन गर्ने उनले स्पष्ट पारे । मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।  

Image result for युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा

१३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भइसकेको पनि उनले जनाए ।   

उनका अनुसार महिला र पुरुष भलिवलका खेलहरु सुरु भइसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभ संकेत हो’– उनले भने ।   

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने, ‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’   

उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भइरहेको जानकारी दिए । उनले उद्घाटन समारोहमा देशका ख्याँतिप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे ।   

सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ ।   

सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको उनले बताए ।   

दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराईने तयारी रहेको पनि उनले जनाए । उनले भने, ‘सागमा आउने पाहुना, खेलाडीहरुलाई नेपालका प्राकृतिक सुन्दरतासँग भौतिक रुपमा साक्षात्कार गराउने तयारी छ ।’ 

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहाँसिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।   

सागलाई व्यवस्थित गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =