दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्न पाइने, खर्च कति ?

मंसिर १, बागलुङ । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ ।   

महोत्सवको अवसरमा गलकोटमै पहिलो पटक हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको समेत दृश्यावलोकन गर्न पाईने छ । यसको लागि अहिले आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । 

महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत गलकोट देखि पर्यटकीय नगरी ढोरपाटन सम्मको दृश्यावलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए । 

हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले बताए ।   

महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टर मार्फत गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्यावलोकन गर्न सकिने संयोजक सुवेदीले बताए । झण्डै १३ वर्ष पछि बागलुङको गलकोटमा सञ्चालन हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।   

दृश्यावलोकनमा कति खर्च गर्नुपर्छ ? 

न्युनतम ५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रु ६ हजार शुल्क लाग्ने छ । २ सय जना भन्दा बढि भएमा ६ हजार ५ सय रुपैंया लाग्ने बताईएको छ । त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।   

गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु ३५ हजार शुल्क निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भुपेन्द्र खत्रीले बताए । 

कुन कुन दिन उडान हुन्छ हेलिकोप्टर ? 

हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । हेलिकप्टर उडानको लागी महोत्सवको टाईटल स्पोन्सर प्रभु ग्रुपसँग सम्झौता गरिसकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । महोत्सवमा गलकोट, ताराखोला र ढोरपाटन सम्मको आकाशमा प्रभु हेलिकोप्टरले उडान भर्ने छ । त्यसको लागि आवश्यक प्रकृया समेत पुरा गरिएको हेलिकोप्टर व्यवस्थापन समितिका संयोजक सुवेदीले जानकारी दिए । 

 हेलिकोप्टरमा घुम्ने र दृश्यावलोकन गर्न अहिले देश विदेशबाट टिकट बुकिङ भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेर बहादुर थापाले जनाए । गलकोट क्षेत्रमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्ने अवसर पहिलो पटक भएकोले आर्कषणको रुपमा हेरिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टर मार्फत दृश्यावलोकनको निम्ति अनलाईन र टेलिफोन मार्फत टिकट बुकिङ गर्न सकिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =