एपीएफ चन्द्रागिरी गोल्डकप च्याम्पियन (फाेटाे फिचर सहित)

काठमाडौं, १४ मंसिर । विभागीय क्लब नेपाल एपीएफ क्लब तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।   

शनिबार भएको उपाधि भिडन्तमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै एपीएफ तेस्रो संस्करणको च्याम्पियन बनेको हो । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।   

शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित र थप गरिएको समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा एपीएफका सबै पाँच खेलाडी सुदिप शिख्राकार, कप्तान नवीन लामा, आशिष लामा, बुद्धिमान राई र रामकुमार कुमालले गोल गरे । पुलिसका सुमन लामा, अजित भण्डारी, हेम तामाङ र भोला सिलवालले गोल गरे । कप्तान जुमानु राईको पेनाल्टी एपीएफका गोलरक्षक अमृत चौधरीले बचाए ।   

पुलिसले इन्ज्युरी समयमा पेनाल्टी एक्सपर्टको रुपमा रहेका रोशन खड्कालाई मैदान पठाएपनि उनले कुनै प्रहार बचाउन सकेनन् ।   

प्रतिष्पर्धात्मक बनेको खेलको सातौं मिनेटमा प्रवी स्याङतानले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । आशिष लामाको फ्रिकिकलाई गोलरक्षक शत्रुघन चौधरीले बचाएपनि रिवाउन्डमा अनमार्क रहेका प्रवीनले गोल गरेका थिए ।   

एक गोलले पछि परेपछि पुलिसले आक्रमक खेल खेल्दै एपीएफलाई लगातार दवावमा राखेपनि बराबरीको लागि ४२ औं मिनेट कुर्नुपरेको थियो । करिव ३५ यार्डमा प्राप्त फ्रिकिकलाई निर कुमार राईले सुन्दर गोल गरेका थिए । उनको फ्रिकिकलाई एपीएफका गोलरक्षक अमृत चौधरीले रोक्ने कुनै मौका नै पाएनन् । त्यसअघि ३१औं मिनेटमा रवि पासवानले बराबरीको मौका खेर फालेका थिए ।   

३३औं मिनेटमा सुमन लामाको फ्रिकिक सदुपयोग हुन सकेन । ३५औं मिनेटमा एपीएफका बिक्की लामाको क्रसलाई गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाए । ३६औं मिनेटमा पुलिसका कप्तान जुमान राईले सुन्दर मौका खेर फाले ।   

दोस्रो हाफमा पनि दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फाले । ५०औं मिनेटमा निरकुमार राईले प्रहार पोस्टबाट थोरै बाहिरियो । ५९औं मिनेटमा बिक्की तामाङको क्रसमा अनमार्क रहेका प्रविनको हेडर फितलो बन्यो । ८१औं मिनेटमा निरज चौधरीको प्रहार आकासियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा एपीएफले बाजी मारेको हो ।   

च्याम्पियन बनेसँगै एपीएफले ६ लाख ५० हजार रुपैंया नगद पुरस्कार हात पार्यो । दोस्रो भएको नेपाल पुलिस क्लबले ३ लाख ५० हजार रुपैंयामा चिक्त बुझायो । एपीएफका गोलरक्षक अमृत चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । उनले प्रतियोगितामा एपीएफलाई फाइनलसम्म पुर्याउन तीनै खेल तथा पेनाल्टीमा उच्च प्रदर्शन गरेका थिए । एपीएफकै प्रविन स्याङ्तान प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर दुई गोल गरे । उनीहरु दुवैले समान ३० हजार रुपैंया हात पारे ।   

विजयी टोली तथा खेलाडीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, पुर्व अन्तर्राष्ट्रिय खेलाडी बसन्त गौचन, आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र पुर्व अन्तर्राष्ट्रिय खेलमाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकीलगायतले पुरस्कृत गरे । 

गत ३० कात्तिकदेखि शुरु भएको तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको थियो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *