भारी मात्रामा लागुऔषध सहित नागढुङगाबाट तीन पक्राउ

कात्तिक २७, काठमाडौं । प्रहरीले नागढुङगा नाका बाट भारी मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी २ नागढुंगा स्थित छुट्टाछुट्टै चेक जाँचको क्रममा उनीहरुलाई विभिन्न परिणामको लागु औषध सहित पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रहरी नायव उपरीक्षक प्रमुख कुमार विक्रम थापाका अनुसार विरगंज बाट काठमाडौं तर्फ आउँदै गरेको बा ७ ख ५३७६ नम्बरको बस बाट भारत विहार रक्शौल पुर्वी चम्पारण हरदीया रघौता घर हुुने वर्ष २४ को दिलीप साह, धादिङ बाट काठमाडौं तर्फ आउँदै गरेको बा ३ ख २८४० नम्बरको बस चेक जाँच गर्दा जिल्ला धादिङ थाक्रे गाउँपालिका वडा नं. २ सिम्ले घर हुने बर्ष ५५ को सोनम तामाङ वाईवा र नवलपरासी बाट काठमाडौं तर्फ आउँदै गरेको लु १ ख ८५१३ नम्बरको बस चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका नवलपरासी रामग्राम गा.पा वडा नं. ९ घर हुने वर्ष २५ को गणेश बानियाँलाई लागुऔषध सहित नियन्त्रणमा लिएको बताए ।
थानकोट बृत्तका प्रहरी नायव उपरीक्षक थापाका अनुसार शाहको साथबाट झोला भित्र पत्रिका र टेपले बेरि १३ वटा पोका बनाई लुकाई छिपाई लिई आएको लागु औषध फेनारगन ६५० एम्पल डाईजेपाम ६५० एम्पल र नुफिन ६५० एम्पल फेला परेको छ ।

त्यस्तै सोनम तामाङ वाईवाको साथ बाट लागु औषध चरेश ८ किलो ५३५ ग्राम र बाँनियाको साथबाट लागु औषध फेनारगन ३०० एम्पल, डाईजेपाम ३०० एम्पल र नुफिन ३०० एम्पल बरामद भएको छ ।पक्राउ गरिएका तीनै जनालाई जिल्ला अदालत काठमाडौंमा म्याद थप गरि अनुसन्धान थालिएको थानकोट प्रहरीले जनाएको छ ।








