कृष्ण कँडेलले ऋषि धमलालाई भने– गफ लगाएर देश बन्दैन

कार्तिक २७, काठमाडौं । कर्णालीका पूर्व सैनिक, कलाकार तथा गायक कृष्ण कँडेलले वरिष्ठ पत्रकार ऋषि धमलालाई भारतले मिचेको सीमा विवाद सुल्झाउनका लागि पहल गर्न आग्रह गरेका छन् ।
आज (बुधबार) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गायक कँडेलले सञ्चारकर्मी धमलासँग सीमा विवाद सुल्झाउन पहल गर्न आग्रह गरेका हुन् । भारतले नेपालको विवादास्पद क्षेत्र कालापानी आफ्नो सीमामा समेटेर नक्सा सार्वजनिक गरेको थियो । सोही विषयमा कँडेलले धमलाको ध्यानाकर्षण गराएका हुन् ।
‘आज देशको सीमा मिचिएको छ । लिपुलेक, कालापानी अर्काको नक्सामा छ । खै, ऋषि दाई के हेरिरहनु भएको छ ? आज अछामदेखि सुर्खेतको आकाशमा कति फाइटर उडिसके, दाई तपाईँहरुलाई अब काउकुती लाग्नुपर्छ । गफ लगाएर देश बन्दैन । सञ्चाकर्मीले फसाउने होइन हँसाउने हो, सञ्चार भनेको समाजलाई बदल्ने अटुट अस्त्र हो’, कँडेलले भने ।

उनले सबै पत्रकारहरुलाई सीमा अतिक्रमण क्षेत्रमा पुग्न पनि सुझाए । ‘यो सबै क्यामेरा एकपटक लिपुलेक, सुस्ता, पुनर्वास पुग्न सकोस् । पुर्नवासमा हाम्रो क्यामेराको फुटेज नै डिलेट भयो । त्यहाँबाट स्याल बनेर फर्किएँ । भनेपछि महास्याल त ऋषि धमला भए नि त । हाम्रो सीमा–अस्तित्व नै ठिक छैन भने हाम्रो नामको के अर्थ, हाम्रो इज्जतको के अर्थ ? त्यसैले अब हरेक नेपाली खबरदार रहनुपर्छ ।’
कँडेलले ऋषि धमलाको खटाइएको प्रशंसा पनि गरे । धमला जस्तो रातदिन खट्ने प्रधानमन्त्री, मन्त्री भए नेपालले विकासमा फड्को मार्ने उनको भनाइ छ । ‘ऋषि दाईलाई म मान्छु । उहाँ जतिको खट्ने देशका तीन जना मात्रै नेता भइदिएका भए कसैले हाम्रो सिमा अर्काको नक्सामा हाल्नै पाउँदैनथ्यो । केही ठाउँ नपाइकन हाल्दैनन् । अर्काको देशलाई बढी गाली गरेर पनि हिरो भइँदैन । कुटनीतिक पहल गर्नुपर्छ । माथिबाट बौद्धिक तरिकाले मिलाउनुपर्छ समस्या । हामी चार जना झगडा गरेर हुन्छ ?’, उनी भन्छन् ।
कँडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धमलाले चिनेको स्मरण गर्दै सीमानाका विषयमा कुटनीतिक पहल गर्न पनि आग्रह गरे । ‘ऋषि दाई, तपाईँ सीमानाको कुटनीतिक पहलमा लाग्नुस् । तपाईँले मोदीलाई चिनेको के अर्थ ? चिनेको मान्छेले त भन्नुपर्यो नि । जिब्रोमा नबिक्नुस् । आँखामा नबिक्नुस् । अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापा, बलभद्र कुँवर मर्दा नेपालीको शान थियो । हामी मर्दा अपमान हुने भयो । हाम्रो शान, पहिचान भनेकै सीमा हो । यसका लागि सबै एकजुट बनौँ’, कँडेलले भने ।
त्यस्तै ऋषि धमलाले अहिले सीमाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै पार्टी तथा नेताहरुको एकमत रहेको स्पष्ट पार्दै आफूले सीमानाका लागि निरन्तर बहस गर्दै आएको दाबी गरे ।
उनले भने, ‘नेपालीहरु कहिले पनि कोहीसँग झुक्दैनन् । मैँले कालापानी नेपालको हो त्यो नेपालीले फिर्ता पाउनुपर्छ भनेर निरन्तर बहस गर्दै आएको छु । कृष्ण कँडेलजीले उठाउनुभएको विषयमा मेरो पूर्ण समर्थन छ । राष्ट्रियताका बारेमा हामी सबै नेपाली सञ्चारकर्मी एक हुनुपर्छ ।’








