वीपी प्रतिष्ठानको रजिष्ट्रारमा विएन यादवलाई सिफारिस नगर्दा सिनेट स्थगित

कात्तिक २१, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट स्थगित भएको छ । भोली बोलाईएको प्रतिष्ठानको सिनेट प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्थगित गरेका हुन् ।   

अस्पताल निर्देशक डा. गौरिशंकर शाह र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. विएन यादवका कारण प्रतिष्ठानको सिनेट स्थगित भएको हो ।   

स्रोतका अनुसार डा. विएन यादव प्रतिष्ठानको रजिष्ट्रार बन्न कसरत गरिरहेका थिए । प्रतिष्ठानको रजिष्ट्रार बनाउन अस्पताल निर्देशक डा. शाहले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पनि भनेका थिए । पछिल्लो समय अस्तब्यस्त बनेको प्रतिष्ठान सुधारोन्मुख हुदै गर्दा मन्त्री यादवले अस्पताल निर्देशक डा. गौरीशंकर शाह र विएन यादवको कुरा सुन्न परेपछि समस्या पैदा भएको छ ।   

‘राप्तिका रेक्टर डा. विएन यादवलाई रजिष्ट्रार बनाउन मन्त्रीजीले प्रस्ताव गर्नुभएको थियो । दक्षता र क्षमता नहेरी पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान झन तहसनहस हुने देखिएको छ ।’ एक सिनेट सदस्यले भने ।   

प्रतिष्ठानको सिनेटमा रजिष्ट्रारको भूमिका खासै नहुने भएपनि मन्त्री यादव र गौरीशंकर शाह र विएन यादवको दवावमा छन् । प्रतिष्ठानको सिनेटको अध्यक्षता सहकुलपति अर्थात स्वास्थ्यमन्त्रीले गर्ने प्रावधान छ । प्रतिष्ठान अहिले कार्यवाहक उपकुलपतिको भरमा चलेको छ । प्रतिष्ठान अस्पताल निर्देशक र शिक्षाध्यक्ष वाहेक रजिष्ट्रार, डेपुटी रजिष्ट्रार विहिन अवस्थामा छ । संभवतः भोली बस्ने सिनेटले यीनै विषयमा निर्णय गर्ने भनिएपनि अन्तिम अवस्थामा सिनेट स्थगित गरिएको छ ।   

एक सिनेट सदस्यका अनुसार भोलीको सिनेटमा केहि जिम्मेवार पदाधिकारीलाई नै कारवाहीको प्रस्ताव थियो । पछिल्लो दिनमा प्रतिष्ठानमा साँढे चार लाखको अर्को चेक काण्ड घटेको छ । उक्त चेक काण्डमा संलग्न पदाधिकारीलाई कार्यवाहक उपकुलपतिले स्पष्टिकरण समेत सोधिसकेको र सो विषय सिनेटमा समेत जाने अवस्था थियो । 

स्रोतका अनुसार डा. यादव मन्त्रीका नजिकका मान्छे हुन् । उनी केहि दिन अघि विएन यादवको घरसमेत गएका थिए । मन्त्री यादवले उनलाई राप्तिको रेक्टर बनाएर पठाएपनि उनले त्यहाँ काम गर्न सकिरहेका छैनन् । राप्तिमा डा. विएन यादव र उपकुलपति डा. संगिता भण्डारी विच ठूलो मतभेद छ ।   

एकातिर प्रतिष्ठानलाई स्वायत्त भन्ने अर्कोतिर कर्मचारी र पदाधिकारी चयनमा हस्तक्षेप गर्दा प्रतिष्ठान चलाउन समस्या भइरहेको छ । भोली हुने सिनेट स्थगित हुँदा प्रतिष्ठानलाई समस्या हुने भएको छ ।   

खासगरी प्रतिष्ठानमा निर्माणाधिन भवन निर्माणका काम र पदाधिकारी नियुक्तिमा असर गरेको एक सिनेट सदस्यले बताए । प्रतिष्ठानको सिनेटका लागि सबै सिनेटहरु काठमाडौं आइसकेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *