सातौं विश्व शौचालय दिवसः शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग

मंसिर ३, काठमाडौं ।  आज देशैभर ‘सातौँ विश्व शौचालय दिवस मनाइएको छ ।   

सबै नागरिकलाई सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै  ‘सातौँ विश्व शौचालय दिवस’ मनाइएको हो ।   

काठमाडौँको बसन्तपुरमा मंगलबार बिहान आयोजित प्रभातफेरि सहितको कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । 

मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन् ।   

त्यस्तै काठमाडौं महानगरपालिकाभित्र प्रबिधियुक्त सुविधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिन आग्रह गर्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गरे । 

शौचालयको समस्या समाधान भएमा सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने उनको भनाइ छ ।   

त्यसैगरी महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको बताए । यसरी सुधार गरिने र नयाँ बनाइने शौचालयलाई आवश्यकताका आधारमा स्मार्ट, सहुलियत र व्यवस्थित गरिने उनको भनाइ थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =