जसले दिएकी थिइन् प्रधानमन्त्री ओलीलाई नयाँ जीवन

मंसिर ११, काठमाडौँ । शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले कान्तिपुरसित भनिन्, ‘दाइ, के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो ।’ 

त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने । आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन् । यस्तोमा उनको कुरालाई केपीले सुरुमा एक अल्लारे केटीको लहड ठानेर उडाइदिए । तर, उनले मिर्गौला आफैंले दिन्छु भन्दै अड्डी कसेपछि भने केही गम्भीर भए, अनि भने, ‘तँ सानै छेस्, बच्चा पनि सानै छ, हुँदैन बा हुँदैन !’अन्जानले भने मिर्गौला दिन्छु भनेर जिद्दी गरी नै रहिन् । 

पत्नी राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो । किनभने उनको मिर्गौला चिकित्सकीय दृष्टिले प्रत्यारोपणका लागि उपयुक्त ठहरिएको थियो । 

‘दिने नै हो भने एकपटक श्रीमान् र बाआमालाई सोध,’ ओलीले मिर्गौला प्रत्यारोपणअघि फेरि उनलाई भने । ‘किड्नी मेरो हो, मैले किन अरूलाई सोधिरहने ?’ सक्दो छिटो जेठाजुलाई बचाउनुपर्छ भन्ने लागेकाले अन्जानले जवाफ दिइन्, ‘कसैलाई सोधिरहनै पर्दैन, म तयार छु ।’ 

उनले नसोधे पनि श्रीमान् तारा ओली र पिता ध्रुव घिमिरेले अन्जानलाई दानका लागि अनुमति दिए । ‘उहाँको ब्लड ग्रुप ओ नेगेटिभ हो र मेरोचाहिँ ओ पोजेटिभ,’ अन्जानले सुनाइन्, ‘ओ नेगेटिभलाई जसको पायो उसको लिन नमिल्ने तर पोजेटिभले चाहिँ सबैलाई दिन मिल्ने रहेछ, त्यसैले मैले केपी दाइलाई मद्दत गर्न पाएँ ।’ 

वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा प्रारम्भिक परीक्षण गरेपछि ०६४ असारको अन्तिम सातातिर अन्जान पतिका साथ लागेर ओली र उनकी पत्नी राधिकासित भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल पुगिन्। अन्जानको स्वास्थ्य परीक्षण सुरु भयो । प्रत्येक स्वास्थ्य जाँचको नतिजा सकारात्मक आयो। ‘तिमी सानै छ्यौ र बच्चा पनि सानै रहेछ,’ अपोलोका एनेस्थेटिस्ट डा.अनिलकुमार शर्माले शल्यक्रियाअघि उनलाई सोधे पनि, ‘के दिने नै हो र ?’ 

अन्जानले मानौं प्रतिज्ञा गरेकी थिइन् । भनिन्, ‘तपाईंले त मलाई हौसला पो दिने हो त, किन डर देखाउनु हुन्छ डाक्टर साहेब ?’ डाक्टरहरू उनका कुराले चकित भएका थिए, अन्जान अहिले पनि सम्झिन्छिन् । अन्जानले कसैगरी ज्यानै गएछ भने पनि त्यसको दोष तपाईंहरूलाई लाग्ने छैन भनेर चिकित्सक टोलीलाई आफैंले भरोसासमेत दिइन् । अप्रेसन थिएटरमा लगिएपछि एनेस्थेसियाले उनका परेलीहरू बन्द भए । केही घण्टापछि होसबाट ब्युँझँदा डाक्टरले उनको देब्रे पिठ्युँतिर चिरेर मिर्गौला निकालिसकेका थिए । 

अन्जान घिमिरे परिवारका साथ 

‘होस खुल्नेबित्तिकै घाउतिर त ध्यानै गएन, देशको यत्रो ठूलो मान्छेलाई बचाउन पाएँ भन्ने गर्व लाग्यो बरु,’ प्रधानमन्त्री ओलीलाई मंगलबार शिक्षण अस्पतालमा भेटेर चाबहिलस्थित आफ्नो डेरामा फर्केपछि उनी वर्षौंअघिको त्यस दिन सम्झिरहेकी थिइन् । 

दाहिने मिर्गौलाका साथ उनी अपोलोको एउटा कक्षमा ब्युँझिएका बखत छेवैको अर्को कक्षमा उनको देब्रे मिर्गौलाका साथ केपी ओलीले पनि लामो शल्यचिकित्सापछि शान्तपूर्वक आँखा उघारेका थिए । त्यसको तेस्रो दिन आईसीयूबाट क्याबिनमा सार्नेबित्तिकै ओलीलाई भेट्न पुगिन् उनी । 

‘मलाई दाइको मुख कतिखेर हेरुँजस्तो भएको थियो,’ उनले भनिन्, ‘म जाँदा उहाँलाई अक्सिजन दिइराखिएको थियो, तर पनि हल्का बोल्न सक्ने अवस्थामा आइसक्नुभएको रहेछ ।’ त्यस क्षण अन्जानले ओलीका आँखामा कृतज्ञताको आँसु छचल्केको देखिन् । 

उनले ‘तँ जिद्दी भएर मलाई बचाइस्’ भनेको अहिले पनि अन्जानको कानमा गुन्जिरहन्छ । यति सुनेपछि अन्जानलाई आफ्नो देब्रे मिर्गौलाले अर्को जुनी पाएजस्तो लाग्यो र यही जन्ममा दुई जीवन बाँच्न पाएजस्तो आनन्दले उनलाई गाँज्यो रे । 

यही सन्तुष्टिको प्रतिफल हुँदो हो, केही दिनमै अन्जान ठमठम्ती हिँड्न सक्ने भइन् । दोस्रो तलामा रहेको अस्पतालको ठूलो कौसीमा टहलिन जान डाक्टरहरू उनलाई लिफ्ट प्रयोग गर्न भन्थे, उनीचाहिँ भर्‍याङबाटै ओहोरदोहोर गर्थिन् । 

‘बिरामी मान्छे किन जर्‍याङमर्‍याङ गरेको ?’ डाक्टरहरू उनलाई भर्‍याङमा भेटेपछि मायालु पाराले हप्काउँथे । ‘म कहाँ बिरामी हुँ त नि !’ उनी स्वाभाविक पाराले हाँसेर उडाइदिन्थन्, ‘म त बिरामीलाई बचाउन पो आएकी हुँ ।’ उनको यस्तो साहस देखेर डाक्टरहरू धाप मार्थे अनि भन्थे, ‘तपाईंले नै आफूलाई बिरामी नमानेपछि कुनै बिमारीले छुन सक्दैन अब ।’ 

नभन्दै भयो पनि त्यस्तै । किड्नी निकालेपछि कम्तीमा एक हप्ता त क्याबिनमै बस्नुपर्छ भनिरहेका डाक्टरहरूले उनलाई चारै दिनमा डिस्चार्ज गर्दा फरक नपर्ने भन्दै अन्जान सबभन्दा छिटो तंग्रिएकी मिर्गौला दाता भएको चर्चा गरे । 

नेपाल फर्केपछि धेरैले उनलाई घुमाउरो पारामा भने, ‘अब तिमी रोगी हुन्छ्यौ, तिम्रो जीउ गल्छ । बाँकी जीवन कसरी बिताउँछ्यौ ?’ ती सबको टिप्पणीलाई अन्जानको प्रफुल्ल हाँसोले उडाइदियो । उनले त्यसपछि छोरी अभिलाषालाई जन्म दिइन् एकदम सामान्य अवस्थामै । 

‘अपोलोबाट फर्केपछि दान गरेबापत मैले एउटा सिटामोलसम्म खानु परेको छैन,’ उनले सुनाइन्, ‘एउटा मिर्गौलाले पनि पूर्ण रूपमा बाँच्न सकिँदो रहेछ ।’ उनलाई डाक्टरले तामाको तरकारी र सिसीको अचार इत्यादि नखानु भनेका थिए, जसलाई अन्जानले कहिल्यै पालना गरिनन् । ‘जसरी पनि मरेर जाने जीवन हो, किन धेरै बारबेर गर्ने भनेर मैले मुख बारेकी छैन,’ भनिन्, ‘स्वाद परेको कुरो पनि खान नपाए के मज्जा भयो त नि !’यो समाचार आजको कान्तिपुरमा छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =