‘सभापतिलाई विवादमा ल्याउनु कांग्रेसका लागि आत्मघाती’

कार्तिक १७, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाली कांग्रेसका पार्टी सभापतिलाई विवादमा ल्याउने काम नगर्न नेपाल विद्यार्थी संघका नेताहरूलाई आग्रह गरेका छन् ।   

शुक्रबार पार्टी मुख्यालयमा नेपाल विद्यार्थी संघका केही साथीहरूले पार्टी सभापतिलाई उत्तेजित बनाएर मिडियामा प्रस्तुत गरेको कार्य आम कांग्रेसजनले देशैभरबाट मुल्यांकन गरेको उनले बताए । पार्टी सभापतिलाई विवादमा ल्याउने काम पार्टीका लागि आत्मघाती हुने शाहको भनाइ छ ।     

नेपाल विद्यार्थी संघको ३२ बर्षे उमेर हदबन्दी आगामी महाधिवेशनबाट लागू हुने पनि पूर्व उपाध्यक्ष शाहले स्पष्ट पारे ।   

नेपाल विद्यार्थी संघ भित्र ३२ बर्षे उमेर हदबन्दी लगाउँदा पहिला नोट अफ डिसेन्ट लेख्ने र अहिले ३२ बर्षे उमेर हदबन्दी नै चाहिन्छ भनेर आन्दोलन गर्ने आन्दोलनको कुनै औचित्य नभएको शाहको ठहर छ । 

गएको शुक्रबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका सभापति शेरबहादुर देउवाविरुद्ध कार्यकर्ताले नेविसंघ लगायत भ्रातृ संगठनको विषयलाई लिएर नाराबाजी गरेका थिए ।   

सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले प्रदर्शन गरेको हो । ३२ वर्ष मुनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने उनीहरुको माग थियो ।   

कार्यकर्ताले आफ्नो विरोध गर्दै घेराउ गरेपछि आक्रोशित हुँदै जंगिएका सभापति देउवाले औँला ठड्याउँदै विरोधीलाई हप्काएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *