विराटनगरमा यसरी बिदाई गरियो छठ

कार्तिक १७, विराटनगर । देशैभर मनाइने छठ पर्वकाे विराटनगरमा पनि विधिवत् रुपमा समापन गरिएको छ ।   

लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको आज अन्तिम दिन व्रतालुहरुले उदाउँदो सूर्यको किरणलाई अञ्जुलीमा पानी पारी अर्घ अर्पण गर्दै समापन गरेका हुन् ।   

छठ पुजाका लागि बाँसबाट बनेको टोकरी, कोनियाका साथै प्रसादका रुपमा केरा, उखु, मिठाइ र पकवानको रुपमा ठेकुवा र भुसुवा अनिवार्य रुपमा चढाउनुपर्ने परम्परा रहेको छ ।   

नियम, निष्ठा र पवित्रताका साथ मनाउने गरिएको यो पर्व भाकल पूरा भए पश्चात् शुरु गरिने विराटनगरको शुक्रबारेकी व्रतालु रिना मण्डलले बताइन् । उनले पनि सन्तान, पतिको स्वास्थ्य र परिवारमा सदैव शान्ति रहोस् भन्ने कामना सहित व्रत बसेकी छिन् । 

यस्तो छ छठ पर्वको महत्व 

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।   

नेपालमा विशेष रुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।   

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । 

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =