१३ औं दक्षिण एसियाली खेलकुदको तयारी तीव्र, ५ सय ९९ नेपाली खेलाडी हुनेछन् सहभागी

मंसिर ३, काठमाडौं । आगामी २०७६ मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी तीव्र छ ।
दक्षिण एसियाली खेलकुदको महाकुम्भका रुपमा लिइने साग खेलकुदम सुरु हुन १३ दिन मात्रै बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषदले तयारी तिव्र पारेको हाे । सरकारको ठुलो अपेक्षा रहेको यस खेलका लागि रंगशाला मर्मतदेखि लिएर खेलाडीको प्रशिक्षणसम्मका कार्यहरु भइरहेका छन् ।
खेलमा ५ सय ९९ जना खेलाडीहरुले सहभागीता जनाउने जानकारी दिइएकाे छ । जसमा ३ सय १२ पुरुष र २ सय ८७ महिला खेलाडीहरु छन् ।

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ्ग, जुडो, कराँते, शुटिङ्ग, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भारोत्तोलन, उसु, कुस्ती, भलिबल, विच भलिबल, फुटबल, ह्याण्डबल, बास्केटबल, ३ इन्टु ३ बास्केटबल, खो खो, ट्राइयाथोलन, कबड्डी, क्रिकेट, गल्फ, साइक्लिङ्गमा प्रतिस्पर्धा हुनेछ । खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुनेछ ।
अहिले खेलाडीहरुको बन्द प्रशिक्षण चलिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले गएको जेठदेखि नै खेलाडीहरुका लागि विशेष प्रशिक्षणहरु गर्दै आएको छ । गत जेठ १५ देखि असार मसान्तसम्म विशेष प्रशिक्षण, साउन १ देखि भदौ १५ सम्म प्रथम चरण, भदौ १६ देखि असोज ३० सम्म दोस्रो चरण प्रशिक्षण सञ्चालन गरिएको थियो । कात्तिक १ गते देखि सुरु भएको तेस्रो चरणको प्रशिक्षण भने खेल सुरु हुनु दुईदिन अघिसम्म सञ्चालन गरिने राखेपले जनाएको छ ।
राखेपका अनुसार राष्ट्रिय तयारी टिम तयारी प्रशिक्षणमा खेलमा सहभागिता जनाउने सबै ९५९९० खेलाडी, १ सय २३ प्रशिक्षक र ५० जना व्यवस्थापक संलग्न छन् ।
खेलाडीहरुको प्रशिक्षण काठमाडौं, पोखरा, बर्दिया, जनकपुरमा जारी छ । कतिपय खेलाडीहरु जापान, चीन, भुटान, थाइल्याण्ड, कतार, मंगोलिया, अष्ट्रेलिया, अमेरिका, पाकिस्तान लगायतका देशहरुमा प्रशिक्षणमा छन् । खेलमा नेपालको उच्च नतिजा तथा क्षमता अभिवृद्धिका लागि उनीहरुलाई वैदेशिक प्रशिक्षणमा पठाइएको जनाइएको छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई लक्षित गर्दै विज्ञ तथा विशेषज्ञहरु मार्फत् विभिन्न तालिमहरुः दुर्घटना न्युनिकरण अभिमुखी, डोपिङ्ग सचेतान, पुर्नताजगी, पोषण तथा खुराक एवम् प्रशिक्षण विधि विज्ञान सम्बन्धी तालिमहरु पनि सञ्चालन गरिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम बहादुर रानाभाटले जानकारी दिए ।
१३ औँ साग खेलकुद आयोजना मात्रै नभएर नेपालका लागि इतिहास पुनरावृत्ति गर्ने अवसर तथा राष्ट्रिय प्रतिष्ठाको प्रतिविम्ब समेत रहेको उनले बताए । दक्षिण एसियाली राष्ट्रहरु बिच खेलकुदको माध्यमबाट सांस्कृतिक, धार्मिक, राजनीतिक तथा मानवीय हितका कार्यहरु मार्फत आत्मिक एकता, पर्यटन प्रवद्र्धन तथा सामूहिक विकासको लक्षय प्राप्त गर्न महत्वपूर्ण हुने उनको भनाइ छ ।
नेपालकै पहलमा आयोजना हुन लागेको सागको पहिलो आयोजक राष्ट्र पनि नेपाल नै हो । उक्त प्रतियोगिता सन् १९८४ मा पहिलाे पटक काठमाडौंमा भएको थियो ।








