विप्लवका छोरा पढ्ने कलेज परिसरमा गोलीसहित पेस्तोल भेटियो, कलेज प्रशासनले नै पेस्तोल राखेको विद्यार्थीको आरोप

मंसिर ८, काठमाडौँ । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ ।
भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा शनिबार दिउँसो बेवारिसे पेस्तोल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो ।
त्यससँगै थ्रि नट थ्रिको सात राउण्ड खाली खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोली बरामत गरिएको उहाँले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार दिउँसो ३ः ३० बजे पेस्तोलसहित गोली भेटाएको हो । कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो । प्रहरी उपरीक्षक मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन शुरु गरिएको बताए ।
कलेजले शुल्क बढी लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले मागसँगै आन्दोलन गरेपछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ ।
दशैँपछि एक साता पढाइ भए पनि सो पश्चात शैक्षिक कार्यक्रम ठप्प रहेको छ । कलेज परिसरमै रहेको आवास नजिकै पेस्तोल र गोली फेला परेको हो । आवासमा २०० विद्यार्थी बसोबास गर्छन् ।
सोही मेडिकल कलेजमा नेत्रविक्रम चन्द विप्लवका छोरा पनि अध्ययनर छन् । प्रकाश चन्दको नेतृत्वमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीद्वारा गठित चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजले उठाइरहेको गैरकानुनी शुल्कको विरोध गरिरहेका छन्।
आइतबार संघर्ष समितिले चितवनमा सर्वसाधारण सम्मिलित बृहत् आमसभा गर्ने तयारी गरिरहेको थियो। त्यसैको पूर्वसन्ध्यामा हतियार फेला परेपछि विद्यार्थीले भने सो हतियार कलेज प्रशासनको मिलेमतोमा राखेर आइतबारको विद्यार्थी आन्दोलनलाई निस्तेज पार्न खोजिएको आरोप लगाएका छन्।
उनीहरूले विद्यार्थीलाई फसाउन खोजिएको भन्दै कलेज परिसरमा नाराबाजी गरेका छन्।








