मेडिकल कलेजका सञ्चालक भन्छन्– विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्दैनौं

मंसिर १०, काठमाडौं । निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगर्ने भएका छन् ।   

सरकारले मेडिकल कलेजलाई विद्यार्थीसँग लिएको अतिक्ति शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम सकिएको भोलिपल्ट अर्थात आज मंगलबार कलेज सञ्चालकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँगको छलफलका क्रममा अतिरिक्त शुल्क विद्यार्थीलाई फिर्ता नगर्ने बताएका हुन् ।   

मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने भनी शिक्षामन्त्रीलाई पत्र बुझाउँदै आफूहरुले विद्यार्थी भर्ना गरिसकेपछि सरकारले नयाँ शुल्क निर्धारण गरेको र गत आर्थिक वर्षमा विद्यार्थीले तिरेको शुल्क मध्येबाटै सरकारलाई राजस्व, विश्वविद्यालय र मेडिकल काउन्सिललाई तिर्नुपर्ने शुल्क तिरेका कारण शुल्क फिर्ता गर्न नसक्ने स्पष्ट पारे ।  

सरकारले एमबीबीएस अध्ययनका लागि उपत्यका बाहिर ४२ लाख ५० हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार शैक्षिक शुल्क तोकेको थियो । यो भन्दा बढी शुल्क कलेजहरुले लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।   

मेडिकल कलेज सञ्चालकले शिक्षामन्त्रीलाई बुझाएको पत्रमा भनिएको छ,  ‘उपरोक्त शैक्षिक सत्रहरुको हकमा विश्वविद्यालयबाट प्राप्त पत्रको आधार र अधीनमा रही तोकिएको शुल्कहरु लिई सो शुल्कहरु मध्येबाट बुझाउनुपर्ने शुल्कहरु विश्वविद्यालय, मेडिकल काउन्सिल तथा आन्तरिक राजस्व कार्यालयमा समेत बुझाइ सकिएको साथै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७६ को परिच्छेद ६ को दफा ६.४ मा लेखिएको निर्देशनअनुसार गत आर्थिक वर्षको कर्मचारी बोनससमेत वितरण गरिसकेको ब्यहोरा सहर्ष जानकारी गराउँछौँ ।’ 

गृहमन्त्रालयले सोमबार २४ घण्टे अल्टिमेटम दिँदै मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न निर्देशन सहित एक्सनमा उत्रने चेतावनी दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =