‘दर्शनावली’ भाग– ६ प्रकाशित, किन्न चाहनेलाई विशेष छुट

मंसिर ४, काठमाडौँ । प्रत्येक विषय वा जीवन र जगतलाई हेर्ने दृष्टिकोण नै दर्शन भएको हुनाले मानव जीवनका लागि गन्तव्य पहिल्याउन र लक्ष्यमा पुग्न दर्शनको अपरिहार्य भूमिका हुन्छ भन्ने मानिन्छ ।
यसै कुरालाई आत्मसात गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट वार्षिक रूपमा दर्शनशास्त्र सम्बन्धी प्रकाशित हुँदैआएको ग्रन्थ ‘दर्शनावली’को भाग–६ प्रकाशन भएको छ । प्रतिष्ठानको दर्शनशास्त्र विभागको संयोजनमा प्रकाशन हुने गरेको ‘दर्शनावली’मा विविध नेपाली दर्शनका बारेमा विद्वानहरूले लेखेका महत्वपूर्ण लेखहरू समावेश गर्ने गरिन्छ ।
दर्शनशास्त्र विभागका प्रमुख एवं सदस्य सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ र विष्णु प्रभातद्वारा सम्पादित हाल प्रकाशित ग्रन्थ ‘दर्शनावली’को भाग–६ मा नेपाली दर्शनको परिचय, संस्कार रूपान्तरणको आवश्यकता र चुनौती, दर्शन र शिक्षा, प्रकृतिपूजक बोन दर्शन, मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंहको योगदान, साङ्ख्य, वेदान्त, मीमांसा, वैशेषिक, न्याय, बौद्ध लगायत विभिन्न दर्शनसँग सम्बद्ध बिसओटा आलेखहरू समावेश गरिएको छ ।

३१२ पृष्ठको उक्त पुस्तकको मूल्य ३३० रहेको छ । पुस्तक प्रज्ञाको पुस्तक प्रदर्शनीमा आकर्षक छुटका साथ विक्री भइरहेको पुस्तक प्रदर्शनी सहव्यवस्थापक महेश्वर थापा मगरले जानकारी दिए ।








