माछा आयात घट्यो, किसानलाई बिजुलीकै टेन्सन

कार्तिक २२, चितवन ।   आत्मनिर्भर तर्फ उन्मुख रहेको माछापालन व्यवसायमा विदेशी माछा आयातको समस्या रहीरहेको छ । तर विगतका तुलनामा माछा आयात ह्वात्तै घटेको व्यवसायीहरु बताउँछन् । विगतमा ६० प्रतिशत भन्दा बढी माछा भारतबाट आयात हुदै आएको थियो ।  

गत वर्ष भने २५ प्रतिशत मात्रै माछा स्वदेश भित्रिएको चितवन माछा उत्पादक संघका निवर्तमान अध्यक्ष रमेश पाण्डेले बताए । दुई वर्ष अघि सम्म फर्मालिनको प्रयोग गरि भारतबाट नेपाल पर्याप्त मात्रामा माछा भित्रने गरेका थिए । ट्रकका ट्रक माछा भित्रने गरेको थियो, सिमानामा चेकजाँच कडाई गरेसंगै माछाको आयात घट्दो छ संघका निवर्तमान अध्यक्ष पाण्डेले भने ‘आयात घट्दा यहाँका किसानलाई माछापालन व्यवसायमा हौसला मिलेको छ ।’ 

अहिले फर्मालिन प्रयोग भएको माछा ज्यादै न्युन मात्रामा मात्र भित्रने गरेको छ । नेपालको कुल क्षेत्रफलको करिव ५ प्रतिशत अर्थात ८ लाख २३ हजार हेक्टर जलाशय रहेको मध्ये २ प्रतिशत मात्र उपयोगमा छ । माछाले कुल ग्रार्हस्थ उत्पादनमा करिव १.३३ प्रतिशत तथा कृषि क्षेत्रको ग्रार्हस्थ उत्पादनमा ४.२९ प्रतिशत योगदान गरेको राष्ट्रिय तथ्यांक छ । नेपालमा कुल उत्पादन ८३ हजार ८९७ मेट्रिक टन मध्ये २१ हजार मेट्रिक टन प्राकृतिक जलाशय र पोखरीबाट ६२ हजार ८ सय मेट्रिक टन रहेको छ । संख्यात्मक हिसावमा माछापालन व्यवसायमा १ लाख ३४ हजार ७३३ जना आवद्ध छन् ।  

माछापालनमा अग्रणी जिल्लाको रुपमा चिनिने चितवनमा माछापालन तर्फ किसानको आकर्षण बढ्दै गएको छ । गत वर्ष माडी र खैरहनीमा माछा पोखरी बिस्तार भएको मत्स्य व्यवसायी संघ चितवनले जनाएको छ । खैरहनीमा करिब २० हेक्टर बृद्धी भएपनि माडीको एकिन तथ्यांक संकलन नभएको संघका निवर्तमान अध्यक्ष पाण्डेले बताए । बिस्तार भएका पोखरी नयाँ पोखरी हुन् । तर पुराना पोखरीहरु थु्रपै छन् । गत वर्ष केही हेक्टर पोखरी थपिएका छन् पाण्डेले भने ‘प्रयोगमा नआएका धेरै पोखरी छन्,तिनीहरुको मर्मत गर्न सके उत्पादन वृद्धी हुनेछ, जसले विदेशी माछा आयातलाई प्रतिस्थापन गर्छ’ । चितवनमा पोखरी संख्या २ हजार ३८६ रहेकामा २ हजार ६२१ मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । चितवनको खैरहनीमा मात्रै ५८३ विगाहामा माछापालन गरिएको छ । संघमा आवद्ध २ हजार ७३ जना मध्ये पूर्वी चितवनमा ७ सय ८३ जना छन् ।   

चितवनको उत्पादन जिल्लामै खपत   

चितवनमा पर्याप्त मात्रामा माछापालन हुँदै आएपनि यहाँको उत्पादनले जिल्लालाईनै अपुग हुने गरेको छ । यहाँ उत्पादन भएको माछा स्थानीय स्तरमा खपत हुने गरेको छ ।  चितवनमा उत्पादन हुने माछाले मागको ९० प्रतिशत मात्र पूर्ती गर्न सकेको चितवन मत्स्य व्यवसायी संघका निवर्तमान अध्यक्ष रमेश पाण्डेले बताए । 

 यहाँका पुराना पोखरीहरु मर्मत गर्न सके जिल्लाको मागलाई पूर्ती गरि बाहिर जिल्ला समेत निर्यात गर्न सकिने पाण्डेको भनाई छ । उनका अनुसार अझै धेरै पुराना पोखरी गर्नु पर्ने देखिन्छ ।  पोखरी मर्मतका लागि सरकारले अनुदानको व्यवस्था गर्नु पर्ने माग गर्दै आएका यहाँका किसानहरुले विजुलीमा सहुलियत हुनु पर्ने समेत बताउँदै आएका छन् । माछापालनका लागि कृषि सरह छुट हुने व्यवस्था भएपनि पछिल्लो दुई वर्ष यता उद्योगकै सरह महसुल तिर्नु पर्ने बाध्यता रहेको किसान राजु सिलवालले बताए ।  

किसानलाई प्रोत्साहन गर्नु पर्नेमा उद्योगको सरह महसुल लिन थालियो सिलवालले भने ‘मासिक हजारौ रुपैयाँ बिजुलीमा खर्च हुन्छ,यसले किसानलाई निरुत्साहित बनाएको छ’ । नयाँ पोखरी खन्न अनुदान,पुरानो पोखरीको मर्मत,यान्त्रिकरण,विजुलीमा छुट गर्न सके नेपाललाई आगामी ३ वर्ष भित्र माछामा आत्मनिर्भर वनाउन सकिने किसानहरुको दावी छ । 

३ नम्वर प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा माछापालन प्रदेश सरकारको प्राथमिकतामा रहेको वताउँछन् । चालु आर्थिक वर्षमा नयाँ पोखरी खन्न र यान्त्रिकरणमा सरकारले वजेट विनियोजन गरेको मन्त्री लामाको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *