बंगलादेशमा जारी महिला भलिवल च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

कात्तिक २४, काठमाडौं । नेपालले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । नेपालले अफगानिस्तानमाथि जित निकाल्दै विजयी शुरुवात गरेको हो । 

शाहिद शुरवार्दी इन्डोर स्टेडियम ढाकामा आज भएको खेलमा उपाधिको दावेदार नेपालले अफगानिस्तानमाथि ३–० को सहज जित हात पारेको छ । 

आजको खेल नेपालको पक्षमा रह्यो । एकपक्षीय खेलमा नेपालले कमजोर अफगानिस्तानलाई कुनैपनि सेटमा दोहोरो अंक बटुल्न दिएन । पहिलो सेटमा २५–४ को सहज जित निकालेको नेपालले दोस्रो सेटमा २५–९ को स्कोर खडा गर्यो । तेस्रो सेटमा नेपालले २५–६ को सुखद जित निकाल्यो । 

अफगानिस्तानसँगको जितसँगै नेपालले ३ अंक हासिल गरेको छ । प्रतियोगितामा बंगलादेशले ३ तथा माल्दिभ्सले २ अंक जोेडेका छन् । यता किर्गिस्तानले १ अंक हासिल गर्दा दुई खेल खेलेको अफगानिस्तान अंक विहीन छ । 

भोली सोमबार नेपालले दोस्रो खेल किर्गिस्तानसँग खेल्ने छ । भने, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ । प्रतियोगितामा आजै आयोजक बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । 

राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा प्रतिष्पर्धा गर्ने बताइएको छ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ पनि हुनेछ ।   

भलिवल च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानको सहभागिता छ । खेलको वुमन्स अफ दि म्याच नेपालकी प्रतिभा माली घोषित भइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *