नेपाल-भारत सीमा विवादः प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेविसंघ सडकमा (फाेटाेफिचर)

तस्विरहरूः मकालु खबर/सृष्टि नेपाल 

मंसिर १, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपालको सीमा मिचेको भन्दै भारतविरुद्ध प्रदर्शन गरेकाे छ ।   

केही हप्ताअघि भारतले नेपालको विवादित क्षेत्र कालापानीलाई आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेको थियो । यसैको विरोधमा आज (आइतबार) काठमाडौंको माइतीघर मण्डलामा नेविसंघले वृहत् प्रदर्शन गरेको हो ।   

भारतविरुद्धको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरिएको थियो ।   

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘केपी तेरो पाराले दुःख पाए साराले, यति कुरा पक्का हो केपी ओली छक्का हो, भारतीय विस्तारवाद मुर्दावाद, नेविसंघ जिन्दावाद, कालापानी–लिपुलेक–लिम्पियाधुरा हाम्रो हो, केपी चोर देश छोड, हाम्रो भूमि हाम्रो राष्ट्र प्राण भन्दा प्यारो छ, भ्रष्ट, देश बेचुवा, नालायक सरकार राजीनामा दे, सीमा अतिक्रमण बन्द गर, नेपाली भूमि फिर्ता गर, विस्तारवादी छिमेकीहरु मुर्दावाद, गो ब्याक इण्डिया, चाइना’ लगायतका नारा लगाएका थिए ।  

माइतीघर मण्डलामा जम्मा भएर दुई राउण्ड लगाएका विद्यार्थीहरुको आन्दोलनले यातायात आवतजावतमा समेत समस्या भएको थियो । यातायात आवातजावतमा अवरोध सिर्जना गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले लाठीचार्ज गर्दा नेविसंघका पूर्व उपाध्यक्ष ऋषि केश जंग शाह र दुजाङ शेर्पा घाइते भएका छन् । 

प्रदर्शनका क्रममा नेविसंघका नेताहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप खेदजनक भएको बताए । त्यहाँ उपस्थित विद्यार्थीमाथि लाठीचार्ज गर्न खोज्ने प्रहरी सीमा सुरक्षाका लागि बन्दुक बोकेर जानुपर्ने उनीहरुको भनाइ थियो । ‘प्रदर्शनमा प्रहरी हस्पक्षेप खेदजनक छ । प्रहरी साथीहरु, तपाईँको आइजीपी र गृहमन्त्रीलाई गएर भनिदिनुस्, हामीलाई किन विद्यार्थीलाई कुट्न लगाएको भनेर सोध्नुस् । यहाँ उपस्थित विद्यार्थीमाथि अभद्र व्यवहार गर्नुभन्दा सीमा क्षेत्रमा बन्दुक बोकेर जान निवेदन गर्नुस्’, एक नेताले भने ।   

त्यस्तै नेविसंघका पूर्व उपाध्यक्ष शाहले छिमेकी भारतले नेपालमाथि गिद्धे नजर लगाएको भन्दै नेपाल–भारत मित्रता सुमधुर हुन नसक्ने बताए । मित्रताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सीमा फिर्ता गर्नुपर्ने उनको भनाइ छ । उनले सीमा अतिक्रमणबारे सरकारलाई ब्युँझाउन तथा खबरदारी गर्न सम्पूर्ण नेपालीलाई आग्रह समेत गरे ।   

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *