यो मुलुक संवैधानिक रुपमा हिन्दूराष्ट्र हुनुपर्छ, हामी धार्मिक यात्रा चलाउँछौं– राप्रपा (संयुक्त)

कार्तिक २२, काठमाडाैं ।  राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक र कालापानी नेपालकै भूभाग रहेकोले यो नेपालमा रहनुपर्ने बताएका छन् ।   

शुक्रबार रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो समस्याको जटिलता बुझ्न इतिहास जानुपर्छ । १९६२ देखि हिन्दूस्तान र चीनबीच लडाईं हुँदा यो समस्या भएको थियो । म १९६५ मा नेपाल फर्किएँ । त्यतिबेला के भएको हो भनेर म एकिनका साथ भन्न सक्दिन ।’ 

अध्यक्ष जबराले अहिलेसम्म बनेका नेपालका कुनैपनि सरकारले यसबारेमा समाधानको लागि यथेष्ट पहल गर्न नसकेको गुनासो पोखे । उनले भने, ‘पञ्चायत, बहुदलदेखि अहिलेसम्म आईपुग्दा कहिल्यै पनि ठोस कदम लिएको देखिएन । सरकारले विषयको उठान गरेर बैठानमा पुर्याउन सकेको छैन । अहिले भारतले आफ्नो नक्सा प्रकाशन गरेपछि यो कुरा उठ्न थालेको छ । हाम्रो सरकारले कुटनीतिक कौशल देखाउन सक्नुपर्छ । यो साधारण तरिकाले हुँदैन । सरकारले खोजे हामीले सल्लाह दिनुपर्छ ।’ 

त्यस्तै, उनले आफ्नो पार्टीले यही कात्तिक २८ गतेदेखि ७ दिने धार्मिक यात्रा सुरु गर्न लागेको पनि जनाए । उनले भने, ‘सिताको जन्मस्थलदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म हामी धार्मिक यात्रा चलाउँछौं । यो मुलुक संवैधानिक रुपमा हिन्दूराष्ट्र हुनुपर्छ । यसको लागि हाम्रो धार्मिक यात्राले जागरण उठाउनु हो ।’ 

नेपाल हिन्दूराष्ट्र हुँदा सबै धार्मिक स्वतन्त्रता रहेको त्यही परिस्थिति अहिले नेपालमा स्थापित हुनुपर्छ भन्ने आफूहरुको भनाई रहेको उनले सुनाए । उनले भने, ‘विदेशी चलखेलको आधारमा अन्तरिम संविधान बनाउँदा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे । अहिलेसम्म यसबारेमा नेपाली जनताले आफ्नो मत व्यक्त गर्ने मौका प्राप्त गरेको छैनन् । नेपाल हिन्दूराष्ट्र थियो । संसारको एक्लो हिन्दूराष्ट्रको रुपमा नेपाल परिचित थियो । अन्तरिम संविधानको बेला नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेर मौलिक पहिचान मेटाईयो । यो अपराध हो ।’ 

९४ प्रतिशत ओमकार परिवारका सबै धर्मालम्बीहरु एक हुनुपर्ने उनको आह्वान छ । उनले भने, ‘नेपाल विश्वमै एक्लो हिन्दूराष्ट थियो । एक्लो हिन्दूराष्ट्रको पहिचान पुर्नस्थापित हुनुपर्छ । नेपालले आफ्नो परिचय देखाउनुपर्छ । विश्वमा अहिले एक अर्व ७० करोड हिन्दू धर्मालम्बीहरु छन् । त्यसको आधा प्रतिशतमात्रै नेपाल आए भने नेपालको पर्यटन राम्रो हुन्छ ।’   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *