उपनिर्वाचनका लागि प्रचार-प्रसारमा कांग्रेस अगाडि, धरानबाट गर्यो सुरुवात

कात्तिक २०, धरान ।आगामी मंसिरमा हुन लागेका उपनिर्वाचनका लागि नेपाली कांग्रेसले प्रचारप्रसार अभियान सुरु गरेको छ । धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार टुंगो लागेसँगै कांग्रेसले धरानमा प्रचार-प्रसार सुरु गरेको हो । धरानमा उपनिर्वाचनका लागि अरु पार्टीले प्रचार-प्रसार नगरेकाले कांग्रेस नै उपनिर्वाचनमा प्रचार-प्रसार गर्नेमा आगडि आएको छ ।   

कांग्रेसले यसअघि नै सर्वसम्मत उम्मेदवारका रुपमा तिलक राईको नाम निश्चित गरेपछि कांग्रेसलाई मेयरको उम्मेदवारसहित प्रचार गर्न सजिलो भएको छ । कांग्रेसले सर्वसम्मत प्रत्याशी तय गरेपछि साना दल समाजवादी र लिम्बुवानले उम्मेदवार सार्वजनिक गरेको थिए । सत्तारुढ नेकपाको उम्मेदवार आइतबार मात्र निश्चित भएको थियाे । मेयरको उपनिर्वाचनको उम्मेदवारी दर्ताको मिति कात्तिक २७ गते आउन अब ८ दिन बाँकी छ ।   

मतदानको दिन मङसिर १४ गतेअघि चुनाव प्रचारका लागि दलहरुलाई ३० दिनको समय बाँकी छ । यो अवधिमा कांग्रेस भने चुनावी प्रचारमा निकै अघि बढिसकेको छ । कांग्रेसले चुनाव प्रचार-प्रसारको काम अन्तर्गत आइतबार पहिलो पटक ‘रोड शो’ कार्यक्रमको आयोजना गर्यो । धरान उपमहानगरपालिका वडा नम्बर १३ स्थित जिरो प्वाइन्टबाट सुरु भएको रोड शो वडा नम्बर ८ को तिनकुनेसम्म पुगेको थियो । रोड शोले धरानकौ १३, १, १२, २, ७ र ८ नम्बर वडा समेत गरी छ वटा वडालाई छोएको थियो ।   

सांकेतिक रुपमा पार्टी सामुहिक चुनावी प्रचारमा उत्रिएको संकेत गर्न रोड शो आयोजना गरेको कांग्रेसका उपमहानगर सचिव श्याम पोखरेलले बताए । रोड शोमा कांग्रेस कार्यकर्ताहरु पार्टी र चुनाव चिन्हको झण्डा लिएर सहभागी भएका थिए । उनीहरुले यसपालीको उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न मतदाताहरुलाई आह्वान गर्दै नारा लगाउँदै पैदल यात्रा गरेका थिए ।   

जिरो प्वाइन्टदेखि तिनकुनेसम्म करिब ३ किलो मिटरको रोड शोमा दुवैतर्फका घर, पसल, पैदल यात्रीका साथै टेम्पो, मोटरसाइकल रोकेर तरुण दलका युवा कार्यकर्ताहरुले कांग्रेसको घोषणापत्रका अंश छापिएका चुनाव प्रचार सामग्री वितरण गरेका थिए । 

शोमा कांग्रेसका धरानस्थित नेताहरुको सक्रिय सहभागीता थियो । यसअघि दशैं र तिहारको बेलामासमेत कांग्रेसका उम्मेदवार तिलक राईसहित चुनाव अभियानका टोलीले घर दैलो अभियान जारी राखेका थिए । विभिन्न वडाका टोलहरुमा स्थानीय समुदायसँगको सामूहिक भेटघाट कार्यक्रमहरु सम्पन्न गरेको काँग्रेसले बताएको छ । कांग्रेस प्रत्यासी तिलक राईले भने ‘दशैं र तिहार पनि चुनावी अभियानमा वित्यो ।’ यस्तै बेलाका भेटघाटमा समुदायले यसपालीको उपचुनावका बारेमा उनीहरुलाई लागेको कुरा स्पष्टसँग राखेको उनको भनाई छ । ‘मैले पनि पार्टीको घोषणापत्र मात्र होइन् उम्मेदवारको दृष्टिकोण, बुझाइलाई आधार बनाउनु होस, पार्टीका कार्यकर्ता र जनता भेडा होइनन् भन्ने कुरा देखाईदिनुहोस भनेर बुझाएँ ।’ उनले भने । 

पार्टीले सर्वसम्मतरुपमा उनलाई मेयरको प्रत्यासी बनाउने निर्णय गरे लगत्तै व्यक्तिगत कामलाई थाँती राखेर मतदाताहरुसँग प्रत्यक्ष भेटघाटमा समय बित्दै आएको उनले बताए । ‘यसअवधिमा धरान वरिपरिका दुर्गम वडाका ग्रामिण भेगका नागरिकहरुसँग एक पटक प्रत्यक्ष भेटघाट भइसकेको छ । चुनाव प्रचारको क्रममा पुनः दोहोर्याउने क्रम जारी छ ।’ राईले भने ।   

यस अवधिमा कांग्रेसले उपचुनावका लागि मुल प्रचार प्रसार समिति पार्टीका सुनसरी–१ क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठन गरिसकेको छ । समितिका सचिवमा जिल्ला सचिव सुजेन्द्र तामाङ, प्रचार सचिव मुरारी भट्टराई रहेका छन् । वडाहरुमा वडा, टोल स्तरीय प्रचार समितिहरु गठन भइसकेका छन् ।   

प्रचार प्रसारका लागि कार्यकर्ता परिचालन तथा सम्पर्कका निम्ति वडा स्तरीय चुनावी कार्यालयहरु अधिकांश वडामा खुलिसकेको बताइएको छ ।  आम मतदाता कुन पार्टीले कस्तो र कस्लाई उम्मेदवार बनाउँछ भन्ने प्रतिक्षामा रहन थालेका छन् । यस्तो बेला कांग्रेसले सबैभन्दा पहिले सर्वसम्मत उम्मेदवारको घोषणा गरेकाले त्यस्को सकारात्म छाप परेको उपचुनावमा चासो राख्नेहरुले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *