मेडिकल कलेजहरुले २४ घण्टाभित्र अवैध शुल्क फिर्ता नगरे कारवाही गरिने
मंसिर ९, काठमाडौँ । सरकारले २४ घण्टा भित्र मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता फिर्ता नगरे कारवाही गर्ने भएको छ । आज सोमबार गृह मन्त्रालयमा आयोजित छलफलले अवैध शुल्क असुल्ने कलेज विरुद्द एक्सनमा उत्रिने निर्णय गरेको छ ।
विद्यार्थी र अभिभावकहरु लुटिएको हेर्न नसकिने भन्दै सरकार निजी मेडिकल कलेजहरुका विरुद्ध एक्सनमा उत्रन लागेको हो ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेललगायत सहभागी भएको स्रोतको दावि छ । स्रोतका अनुसार २४ घण्टाभित्र मेडिकल कलेजहरुले शुल्क फिर्ताको प्रक्रिया अगाडी नबढाएर उनीहरुलाई कारवाही गरिनेछ । कारवाही कस्तो हुने भन्ने बारे बैठकले निर्णय गरेको भने छैन् ।
मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम सकिएपछि बैठक बसेको हो ।
चर्को शुल्क असुल्ने मेडिकल कलेजहरु नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा छन् ।
पोखराको गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरुले २०७५ माघदेखि अवैध शुल्क विरोधको आन्दोलन गरिरहेका छन् । उक्त कलेजले २०७२ सालदेखि नै अतिरिक्त शुल्क असुलेको विद्यार्थीको आरोप छ ।
वीरगञ्जको नेशनल कलेजले गत वर्ष भर्ना भएका १ सय जनाबाटै ५५ लाख भन्दा बढी रकम असुलेको आरोप छ । सरकारले उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
गण्डकीले बढी शुल्क असुलेको विषय नेपाल मेडिकल काउन्सिलको अनुगमन टोली र प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको अध्ययन प्रतिवेदनबाट समेत प्रमाणित भइसकेको छ ।
काठमाडौँ विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेजले ९ असोज २०७४ र ५ असोज २०७५ मा कलेजपिच्छे फरक शुल्क निर्धारण गरेको झुटो सूचना जारी गरेको थियो । त्यसैका आधारमा केयूका मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका थिए ।