भुटानी मन्त्रीले नेपालका मन्त्रीलाई ‘नेपालीमै कुराकानी गरौँ है मन्त्रीज्यू’ भनेपछि….

मंसिर ८, काठमाडौँ । ‘तपाईं र हाम्रो भूगोल एउटै छ, रहनसहन पनि मिल्छ । मित्रता जनस्तरसम्म फैलिएको छ । यसैलाई सदुपयोग गरेर विकासको नयाँ यात्रामा अगाडि बढाँै, हामीले जानेको ज्ञान तपाईंहरुलाई दिन्छौँ, तपाईंहरुले सिकेको सीप हामीलाई सिकाउनुहोस्’ यो भनाइ छिमेकी मुलुक भूटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माको हो । 

नेपालीभाषी शर्मा स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’ मा भाग लिन बिहीबार नेपाल आएका थिए । इपानले कार्यक्रम तालिका सार्वजनिक गर्दा नै शर्माको नाम राखेपछि पक्कै पनि उनी नेपाली भाषी होलन् भन्ने लख काटिएको थियो । 

भूटानमा नेपालीभाषी अल्पसङ्ख्यक छन् । त्यही अल्पसङ्ख्यकमध्येका शर्माले भूटानको ढुकुटी हेर्ने निकायको प्रमुख हुने सौभाग्य पाएका छन् । समिटमा अतिथिका रुपमा आएका शर्माले उद्घाटनको दिन मन्तव्य शुरु गर्दा नेपाली भाषामा नै ‘नमस्ते’ गरेका थिए तर उनले भाषण भने अङ्ग्रेजीमा नै गरे । धेरैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जस्तै केही शब्द नेपालीमा बोलेका होलान् भनेर लख पनि काटेका थिए तर उनी नेपाली भाषी नै हो भन्ने कुरा कमैलाई थाहा थियो । 

राजनीतिमा लाग्नुअघि उनले सडक सुरक्षा र सवारी प्राधिकरणको क्षेत्रीय प्रमुख रहेर आफ्नो योग्यताको परीक्षण गरेका थिए । पछिल्ला दिनमा भूटानमा भारतीय लगानी भित्रिएको छ । जलविद्युत्का मेघा परियोजना अगाडि बढेका छन् । डुफुचेन–तेडिङ निर्वाचन क्षेत्रबाट विजयी ४७ वर्षीय शर्मा भूटानको राष्ट्रिय पोशाकमा सजिएका थिए । शर्माको आफ्नो राष्ट्रिय पोशाकप्रतिको लगाव र नेपाली भाषीप्रतिको सम्मान साँँच्चै अनुकरणीय थियो । 

विश्वमा नागरिकलाई खुशी राख्ने देशहरुमध्ये भूटान अग्रपङ्क्तिमा छ । पर्यटन, कृषि उद्यममा पनि क्रमशः भूटानको नाम अन्तरराष्ट्रिय बजारमा स्थापित हुँदै गएको छ । शिक्षा, स्वास्थ्य तथा आधारभूत विषयलाई भूटानले निःशुल्क गरेको छ । रोजगारीका विविध स्रोतको खोजीमा पनि अब्बल सावित भएको छ ।   

मन्त्री शर्माले यही मङ्सिर ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका थिए । ‘लौ है मन्त्रीज्यू स्वागत छ’, ऊर्जा, मन्त्री पुनले भुटानी मन्त्रीको स्वागत गर्दा उनले पनि नेपाली शैलीमा नै ‘स्वागत छ मन्त्रीज्यू’ मात्रै भनेनन्, एउटा नेपालीले अर्को नेपाली भेटेको जस्तै लागेको भनी खुशी भए । ‘मलाई त मेरै घरमा आएजस्तो भएको छ । असाध्यै खुसी छु’ भुटानी मन्त्री शर्माको भनाइ थियो । 

 सम्मेलनमा विश्वभरका ६०० बढी सहभागी थिए । त्यसमा अधिकांशजसो नेपाली नै थिए । चीन, भारत, बङ्गलादेश, नर्वे, अष्ट्रियाका प्रतिनिधि पनि सहभागी थिए तर, यस पटकको समिटको आकर्षणमा भुटानी मन्त्री शर्मा नै थिए । उद्घाटनसत्रको सम्बोधनलाई बिट मार्दैै भुटानी मन्त्रीले भनेका थिए, ‘यस उपस्थितिमा आउनुभएका मन्त्रीज्यू र माहानुभाव सबैमा म खुशी व्यक्त गर्न चाहन्छु । नेपालमा आएर धन्यवाद भन्न चाहन्छु । मलाई यो मौका दिनुभएकामा पनि सबैमा धन्यवाद ।’ 

भुटानी मन्त्री शर्माले मन्त्री पुनसँगको शिष्टाचार भेटमा समेत आफ्नो सम्बोधनको प्रसङ्ग जोडेर भने, ‘नेपालीमा नै कुराकानी गराँै है मन्त्रीज्यू ।’ उनीहरुरुबीच हालखबर र सञ्चो बिसञ्चोको सोधखोजपछि शुरु भएको औपचारिक संवादमा मन्त्री पुनले नेपालले पछिल्ला दिनमा ऊर्जा र जलस्रोतको क्षेत्रमा देखिने गरी काम गरेको र चालू आर्थिक वर्षको अन्त्यसम्म करीब एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप हुने जानकारी दिए । ‘हामीले केही रणनीतिक योजनाका साथ काम शुरु गरेका छौँ । यसले आगामी दिनमा राम्रो प्रतिफल दिन्छ  । भूटानले जलविद्युत्को क्षेत्रमा गरिरहेको प्रगतिबाट हामी पनि पाठ सिक्न सक्छौँ’, मन्त्री पुनको भनाइ थियो । 

नेपालका व्यवसायीले भूटानको विद्युतीकरणका लागि ट्रान्सफर्मर, प्रसारण केवलसमेत उपलब्ध गराएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको उद्योग नेपाल इकरात इञ्जिनीयरिङले उत्पादन गरेको ट्रान्सफर्मरको उच्च माग छ–भूटानमा । यस विषयलाई समेत मन्त्री पुनले स्मरण गरे ।   

‘ठूला आयोजना अगाडि बढाउँदाको अनुभव तपाईंहरुबाट हामी पनि सिक्न चाहन्छौँ, त्यसबाट हामी पनि ठूला परियोजना शुरु गर्नुपूर्व अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी लिन सक्छौँ’ मन्त्री पुनले भने, ‘केही ठूला आयोजना हामी शुरु गर्दैछाँै, मन्त्रीज्यूले त्यसमा सहजीकरण गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।’ उनले भने ।   

दुई हजार ५०० मेगावाट क्षमताको सुनकोश नामक परियोजना शुरु गर्न लागेको र त्यो परियोजनामा आफैँमा महत्वाकाङ्क्षी रहेको मन्त्री शर्माको भनाइ थियो । भूटानको कूल जलविद्युत् क्षमता ३० हजार मेगावाट रहेको छ । आर्थिकरूपमा सम्भाव्य आयोजनाको क्षमता भने २३ हजार ७६० मेगावाट छ । 

भूटानले १०२० मेगावाट क्षमताको ताला, ३३६ मेगावाटको चुखा, १२६ मेगावाटको दागचुुखालगायतका परियोजना सञ्चालन गरिरहेको छ । भूटानको जलविद्युत् आयोजना निर्माणका लागि भारतीय कम्पनीले ७० प्रतिशत ऋण र ३० प्रतिशत अनुदान दिएका छन् । विद्युत् खरीददर भने परियोजना सम्झौता भएपछि मात्रै तोकिनेछ । अन्तरसरकारी सम्झौताका आधारमा भूटान र भारत सरकारले लगानी गरेका छन् । सामान्यतया चार रुपैयाँ १२ पैसा भारतीय मुद्रामा भूटानले भारतले विद्युत् बिक्री गरेको छ । आयोजनाको लागत र समय हेरेर खरीददर तय हुन्छ, मन्त्री शर्माको भनाइ थियो । दक्षिण एशियाको पावरहाउस नेपाल र भूटान बन्न सक्ने मन्त्री शर्माले भने ।   

भूटानको राजश्वको मुख्य स्रोत नै जलविद्युत् रहेको भन्दै भारतको सहयोगमा जलविद्युत विकासमा सफलता मिलेको भन्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार नै ऊर्जा भएको भुटानी मन्त्रीको जोड थियो ।   

भूटानको भूबनोटका कारण कृषि क्षेत्र आधुनिकीकरण हुन नसकेको भन्दै मन्त्री शर्माले संवादको अन्तिममा ठट्टा गर्दै भने, ‘नेपाल कृषिको आधुनिकीकरणको दिशामा गएको छ । त्यो मेरो जानकारीमा पनि छ ।  तपाईंहरुको प्रयास सह्रानीय छ, हाम्रो त उही गोरु नै धपाएर हह..माले हह.. मालेमा नै छौँ ।’ उनले नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न भूटानको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *