तेस्रो चन्द्रागिरी मेयर गोल्डकप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ब्रिगेड ब्वाइज विजयी

कात्तिक ३०, काठमाडौं । तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगितामा शनिवारबाट सुरु भएको छ । दीपशिखा युवा समूहको आयोजनामा भएको ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सांसद कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले खेलकुदकै माध्यमबाट राष्ट्रको नाम उच्च बनाउने काम गरेको भन्दै खेलकुदलाई शशक्त बनाउन राज्यले लगानीमा कुनै कमि गर्न नहुने उनको तर्क थियो । नेता श्रेष्ठले फरक प्रसंगमा लिपुलेक कालापनी हाम्रै देशको भएको कुरामा दुई मत नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले वार्ता र कुटनीतिक पहलका लागि लागि परेको बताए ।
कार्यक्रममा ३ नम्वर प्रदेशका सांसद तथा बातावरण वन, उद्योग तथा पर्यटनकी संयोजक रमा आले मगरले हाल सञ्चालनमा रहेको नैकाप खेल मैदानलाई राष्ट्रिय खेल मैदानको रुपमा विकास गर्न पहल गर्ने बताईन । उनले यस्ता प्रतियोगिता हुनु चन्द्रागिरिकै नाम उच्च हुने कुरामा दुई मत नरहने स्पष्ट पारिन ।

चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले नगरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले आफुहरूलाई उत्साहित पारेको भन्दै प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा हास्य कलाकार दीपकराज गिरीले पछिल्लो समय चन्द्रागिरिमा खेलकुदको माध्यमबाट राष्ट्रको नाम स्थापित गराउने खेलाडी जन्माएको प्रति खुशी व्यक्त गर्दै दक्ष खेलाडी उत्पादनमा राज्यले लगनी गर्नुपर्ने बताए । आयोजक क्लबका अध्यक्ष रवि बुढाथोकी का अनुसार तेस्रो संस्करणको गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टारसँगै १२ टोलीको सहभागिता रहेको बताए ।
प्रतियोगिताका संयोजक पुर्व राष्ट्रिय खेलाडी रमेश वुढाथोकीले प्रतियोगितामा आयोजकको दुई टोली सहभागी हुने जानकारी दिए । प्रतियोगिताको पहिलो संस्करण ब्राइट फ्युचर युथ समूहले आयोजना गरेको थियो भने दोस्रो संस्करण दीपशिखाले नै आयोजना गरेको थियो ।
यस वर्ष पुरस्कार राशीमा ५० हजार रुपैयाँ वृद्धि गरिएको छ । तेस्रो संस्करणको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।
प्रतियोगितामा रुस्लान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, सिएमजी क्लब संकटा, भ्याली च्यासल युथ क्लब, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युवा क्लब र एनआइबिएल फ्रेन्डस् क्लबको सहभागिता रहेको छ । यस्तै आयोजकबाट दिपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिका रहेको छ ।
आयोजकले सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका समेत सार्वजनिक गरेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा, ब्रिगेड ब्वाइज, त्रिभुवन आर्मी, नेपाल पुलिस, जावलाखेल युथ र च्यासल युथ क्लब रहेका छन् । समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस, रुस्लान थ्री स्टार, संकटा, नेपाल एपिएफ र सरस्वती युथ क्लब रहेका छन् ।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा आयोजक दिपशिखा युवा समूह र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भएको थियो । जहाँ ब्रिगेड ब्वाइजले आयोजक दिपशिखा युवा समूहलाई ३–०को अन्तरले पाखा लगायो ।
खेलमा ब्रिगेड ब्वाइजका जर्सी नम्बर १५ का ऋतिक खड्काले २९ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ४९ मिनेटमा जर्सी नम्वर १२ का शिशिर लेखीले दोश्रो गोल गरे भने, खेलको ७६ मिनेटमा जर्सि नम्वर १० का मलद्रिना आङथम्पोले तेस्रो गोल गरि ब्रिगेड ब्वाइजको जित सुनिश्चित गरे । ब्रिगेड ब्वाइजका क्याप्टेन मिलन गोले म्यान अफ दि म्याच घोषित भए ।
भोली मंसिर १ गते चन्द्रागिरी नगरपालिका र फ्रेन्डस क्लबबीच खेल हुनेछ ।








