‘म माफिया होईन, डा. केसीलाई अनशन बस्न लगाउनेहरु माफिया हुन्’ दुर्गा प्रसाई

कात्तिक २६, काठमाडाैं । विर्तामोड स्थित बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको दाबी छ । रिपोर्टर्स क्लबमा बोल्दै प्रसाईले डा. केसीका कारण आफु अन्यायमा परेको समेत जिकिर गरे । 

‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज नहुँदा २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ ।’ उनले भने । प्रसाईले कोशीमा तीन वटा र बागमतीमा मात्रै दश वटा मेडिकल कलेज हुँदा मेचीवासीको सुलभ स्वास्थ्य पाउनु अधिकार होकी होइन भन्दै प्रश्न गरे । उनले  डा. केसीका माग डिनबाट सुरु भएको र शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसकेको बताउँदै उनका सबै माग पूरा भएको जिकिर गरे । 

उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । ‘लगानीको आधारमा शुल्क लिएका छन् ।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए । तर, आज ८ वर्ष बितिसक्दा पनि अनुमति नदिएको उनको गुनासो छ । ‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’ 

प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको भन्दै करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए । ‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको ? तपाईहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’ उनले भने । 

प्रसाईले अनशनरत डा. केसीका कुन माग राम्रा छन् ? भन्दै देखाउन चूनौति दिए । ‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न लगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो । उहाँले सुदुर पुर्व जान भन्नुभयो, मैले बि.एण्ड.सी. खोलें ।’ उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए ।   

उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =