‘साग’का लागि बन्द प्रशिक्षण चलिरहेकै बेला किन भागिन् किर्तिमानी खेलाडी तुलसा ?
मंसिर १४, काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण चलिरहेकै बेला कीर्तिमानी खेलाडी तुलसा खत्रीले नेपाल छाडेकी छिन् ।
लामो समयदेखि बन्द प्रशिक्षणमा संलग्न रहेकी तुलसा एकाएक खेल नै छाडेर बैदेशिक रोजगारीका लागि गएको खुलासा भएको छ । उनी मन्दिर जाने भन्दै विहानै प्रशिक्षणका लागि खेलाडीहरु राखिएको होटलबाट निस्किएर कतार उडेको बताइएको छ ।
१३ औं सागको तयारीमा रहेकी तुलसा किर्तिमानी खेलाडी हुन् । यसअघि केहीसमयअघि मात्रै चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्।
सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्।
यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय भएको थियो। ‘प्रतियोगिताको पूर्वसन्धामा नै उनी सबैलाई ढाँटेर विदेश भगेको एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले बताए । ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको प्रमुख प्रशिक्षक गुरुङले बताए।
गुरुङका अनुसार तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान ५ः३० बजे होटलबाट बाहिरिएकी थिइन्। ‘होटलका गार्डलाई उनले पूजा गर्न मन्दिर हिँडेको भनेर ढाँटिछन्’, उनले भने, ‘हातमा पूजाको थाली पनि बोकेकी रैछन्।’
प्रशिक्षणस्थलमा नपुगेपछि साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि कतार हिँडेको थाहा भएको तुलसाका प्रशिक्षक राकेश वज्राचार्यले बताए । बज्राचार्यले तुलसा प्रशिक्षणमा उपस्थित नभएको जानकारी सम्बन्धित अधिकारीहरूलाई गराइसकेका थिए ।
तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्।