अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपः चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश, उपाधिका लागि सोमबार त्रिुभवन आर्मी क्लबसँग भिड्दै

कात्तिक २४, काठमाडौँ । अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप अन्तर्गत झापाको डोमलाल राजवंशी रङ्गशालामा जारी खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको अन्तिम सेमिफाइनल चर्च ब्वाइज पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि पेनाल्टी पाएको थियो । तर पेनाल्टी सुटमा सुमनकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए । त्यसको तीन मिनेटपछि खेलमा चर्च ब्वाइजले अग्रता बनाउन सफल भयो ।
खेलको २६ औँ मिनेटमा सुनिल खड्काले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका हुन् । उसका लागि भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले भली गरेर बचाउने प्रयास गर्दा भएको रिबाउन्ड बललाई सुनिल खड्काले गोलपोस्टको दिशा दिएका थिए ।

खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अञ्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । रातो कार्ड प्रतियोगिताकै पहिलो हो ।
खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन । खेलको ‘म्यान अफ दी म्याच’ निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।
१० वटा टोली सहभागी गोल्डकपको सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।








