कर्णालीको शिक्षाध्यक्षमा तीन जनाको नाम सिफारिस, कामै नगर्ने घाम ताप्ने पदाधिकारी नियुक्ति गर्न थालियो भन्दै आक्रोस
कात्तिक २७, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको चलखेल शुरु भएको छ । प्रतिष्ठानका लागि शिक्षाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु भएसँगै चलखेल शुरु भएको हो ।
प्रतिष्ठानले शिक्षाध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । जस अनुसार कर्णालीको शिक्षाध्यक्ष हुन न्याम्सकी डा. आरती शाह, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसरद्वय डा. पारस पोखरेल र डा. बद्रीप्रसाद बडुको नाम छ ।
प्रतिष्ठानका उपकुलपतिले सिफारिस गरेका तीन जनाको नाम मध्येबाट स्वास्थ्यमन्त्रीले शिक्षाध्यक्ष नियुक्त गर्ने प्रावधान छ । यी मध्ये न्याम्सकी डा. आरती शाह प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्र वाग्ले निकट हुन् । न्याम्सको अंकोलोजी विभागकी प्रोफेसर डा. आरती मन्त्री उपेन्द्र यादवको रोजाईमा पनिपर्ने भएकोले उनी कर्णालीको तेस्रो शिक्षाध्यक्ष हुने पहिलो नम्बरमा छिन् । उनी न्याम्समा पनि विवादित चिकित्सकका रुपमा चर्चित छन् ।
डा. पारस र डा. बद्री बडुले समेत स्वास्थ्यमन्त्री समक्ष आफ्ना मान्छे पठाइसकेका छन् । डा. बडु वीपी प्रतिष्ठानको आँखा विभागका प्रोफेसर हुन् । वीपीमा उनको दुई वर्ष मात्र बाँकी छ । अर्का डा. पारस प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ कम्युनिटी मेडिसिनमा कार्यरत छन् । डा. पारसले चिकित्सा शिक्षा आयोगमा आउन दुईदुई पल्ट दरखास्त हालेपनि सफल हुन सकेनन् । यी दुवै राप्ती स्वास्थ्य प्रतिष्ठानका शिक्षाध्यक्ष डा. विएन यादव मार्फत मन्त्री समक्ष पुग्ने दाउ बनाएका छन् । डा. यादव मन्त्रीका खास मान्छे हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुदुरपश्चिमको दुर्गम क्षेत्रका जनतालाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न स्थापना गरिएको भएपनि प्रतिष्ठानले मेडिकल शिक्षा र उपचार सेवामा खासै काम नगरेको कर्णालीबासीको गुनासो छ ।
अहिलेसम्म दुई कार्यकाल पदाधिकारी भइसकेकाहरुले प्रतिष्ठानको ललितपुर स्थित सम्पर्क कार्यालयमै रहेर कार्यकाल पुरा गरेको, प्रतिष्ठानलाई आफन्त र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाएको, प्रश्नपत्र किनबेच गरेर कमाउ धन्धा गरेको, उपकरण खरिदमा ब्यापारीहरुसँग साँठगाँठ गरी लूटतन्त्र मच्चाएको, प्रतिष्ठान निर्माणको नाममा सरकारी ढुकुटी रित्याएको आरोप लाग्दै आएको छ ।
प्रतिष्ठानमा आठ जना पदाधिकारी छन्, जसको तलब मासिक दुई देखि तीन लाखसम्मको हाराहारीमा छन् । यस हिसाबले उनीहरुले मासिक २४ लाखको तलब पचाउन वाहेक केहि गर्न नसकेको कर्णालीबासीको धारणा छ । ‘सरकारले दुर्गम क्षेत्रका लागि भनेर प्रतिष्ठान त ल्यायो तर, यहाँ राजनीतिक नियुक्ति लिएर आउने पदाधिकारीहरुले जनताका लागि भन्दापनि आफ्ना पार्टीका नेता र कार्यकर्ताका लागि बढि काम गरेको देखिएको छ ।’ स्थानीयको गुनासो छ ।
पदाधिकारीहरु मुस्किलले महिनामा एकाध दुई दिन जुम्ला पुगेर बाँकी दिन सम्पर्क कार्यालयमै विताउने गरेको भन्दै प्रतिष्ठानमै कार्यरत कर्मचारी, चिकित्सकहरुको समेत गुनासो छ । ‘भन्ने बेलामा बजेट ल्याउन र योजना बनाउन बसेको भन्छन्, काम भने केहि गर्दैनन् ।’ प्रतिष्ठानका एक सिनियर कर्मचारी भन्छन् ।
यस अघि प्रतिष्ठानका पहिलो शिक्षाध्यक्ष डा. निलाम्बर झाले आफ्नो कार्यकाल नै पुरा नगरी दुई वर्षमै राजिनामा दिएर गएका थिए । काम भन्दा बढि गफ गर्ने स्वभावका निलाम्बरले प्रतिष्ठानको शैक्षिक उन्नतिमा खासै योगदान गरेनन् । उनीपछि आएका डा. धर्मराज श्रेष्ठले पनि खासै काम गर्न नसकेको प्रतिष्ठानकै चिकित्सकहरु बताउँछन् । खासगरी कर्णाली दुर्गम क्षेत्र भएकोले शैक्षिक कार्यक्रम चलाउन समस्या परेको छ । ‘कर्णालीमा आएका पदाधिकारीले तलब भत्ता पचाउने वाहेक केही गर्न सकिरहेका छैनन् । महिनामा ५ दिनपनि कर्णाली नआउनेले प्रतिष्ठानको विकास भन्दा कसरी हुन्छ राज्यको ढुकुटी सिध्याउने सोच बनाएका हुन्छन् ।’ कर्णालीका एक चिकित्सकले बताए ।
अहिले प्रतिष्ठानका उपकुलपति सहित पदाधिकारीलाई डा. गोविन्द केसीले प्रतिष्ठानमा अनसन बस्दा नियोजित रुपमा तोडफोड गराएको भन्दै प्रदेश सरकारले कारवाहीको गर्ने भनेको थियो । गतवर्ष साउन ३ गते डा. केसीले कर्णाली गएर अनसन बस्दा प्रतिष्ठानका पदाधिकारीकै योजनामा प्रतिष्ठान तोडफोड गरेको आरोप पनि छ ।
शिक्षाध्यक्षको नियुक्तिलाई लिएर प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले नै असन्तुष्ठि प्रकट गरेका छन् । प्रतिष्ठानमा कार्यरत नेपाल चिकित्सक संघ जुम्लाका अध्यक्ष डा. मंगल रावलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस हाल्दै असन्तुष्ठि जनाए । उनले पदाधिकारी नियुक्तिको चलखेललाई राज्यको श्रोतमा रजाई भन्दै चर्को असन्तुष्ठि जनाएका छन् ।
उनले भनेका छन्–‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर नियुक्ति गर्नका लागि हाम्रा उपकुलपति राजेन्द्रराज वाग्लेले तीन जनाको नाम मन्त्री उपेन्द्र यादव लाई सिफारिस गरेको खुल्नमा आयो ।’ उनले अगाडी लेखेका छन्–‘कुनै काम नपाइ घाम तापिरहेका सात जना पधाधिकारीहरु छदैछन । अर्को फेरी ४ लाख तलब खाने घाम ताप्ने पदाधिकारी नियुक्ति गर्नुको कुनै तूक छैन । यसमा सरकारको ध्यान जावोस ।’ डा. रावलले थप लेखेका छन्–‘हुनत हाम्रा उपकुलपतिले एमविविएस प्रधानमन्त्रीले दिएनन् भनेर हल्ला गर्ने अर्को एउटा मान्छे जम्मा गर्न खोज्नु भएको हो भने मेरो भन्नु केहि छैन । काम गर्नुहोस राज्यको श्रोतमा ब्रम्हलुट नगर्नुस येसरी । सराप लाग्छ अर्को जुनीमा ।’ डा. रावलको स्टाटसमा धेरैले उनकै समर्थनमा कमेन्ट पनि गरेका छन् ।
रत्नविर सुनारले डा. रावलको स्टाटसमा कमेन्ट गर्दै ‘मामाको धन फुपुको श्राद्ध गर्ने ठाउँ भएको छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भनेका छन् । कमेन्टमा धेरैले कर्णालीमा पार्टीको हैन कर्णालीबासीको चिन्ता गर्ने ब्यक्ति चाहिएको छ भनेका छन् ।