एनजीओले धानेको चितवनको कान्देश्वरी विद्यालय

कार्तिक १७, कात्तिक । चितवनको राप्ती नगरपालिका १३ कान्दास्थित कान्देश्वरी आधारभूत विद्यालयमा कुनै बेला विद्यार्थी टिकाउन निक्कै मुस्किल थियो । विद्यालयको भौतिक, शैक्षिक अवस्था पनि प्रसंशा गर्न योग्य थिएन ।  

जेनतेन धानिएको सो विद्यालयमा लक्ष्मी प्रतिष्ठान नामक गैरसरकारी संस्थाको आगमन भयो, त्यहीँ बेलादेखि विद्यालयको शैक्षिक गुणस्तर बढ्नुका साथै विद्यार्थी पनि पर्याप्त रहेको स्थानीय बताउँछन् ।  

काठमाडौँका विष्णु गौतमले आफ्नो छोराहरुको स्मृतीमा लक्ष्मी प्रतिष्ठान मार्फत वि.सं.२०७२ सालमा छात्रावास स्थापना गरेपछि विद्यालयका साथै गाउँमा नै परिवर्तन आएको छ । मितेरी फाउण्डेसनले त्यसअघि सो विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग गरेको थियो । कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाका अनुसार छात्रावास स्थापना हुनुअघि विद्यालयमा विद्यार्थी टिकाउन धौधौ थियो । 

‘भौगोलिक अवस्था र आर्थिक अवस्थाका कारण यहाँका बालबालिकाहरु नियमित विद्यालय जान पाउने अवस्था थिएन । कान्दा चेपाङ समुदायको बाहुल्यता रहेको क्षेत्र हो । भौगोलिक अवस्थाले विद्यार्थीको संख्या न्युन थियो ।’ प्रधानाध्यापक थपलियाले भने । 

छात्रावास निर्माणपछि विद्यालयले मुहार फेरेको छ । कुनै वेला ४०,४५ जना विद्यार्थी रहेको विद्यालयमा अहिले १ सय ६० जना विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत छन् । वि.सं. २०७२ सालमा छात्रावास निर्माणको पहिलो वर्षमा ८६ जना विद्यार्थीले छात्रावासको सुविधा पाए ।   

तीन वर्षको अवधिमा करिब दोब्बर वृद्धी भएको छ । आवाससहित विद्यार्थीको पठनपाठनका लागि मासिक ६ लाखभन्दा बढी रकम खर्च हुने गरेको छ । विद्यार्थी वाहेक शिक्षक, कर्मचारी गरी १ सय ८० जना छन् । उनीहरुका लागि मासिक खर्च लक्ष्मी प्रतिष्ठानले जुटाउँदै आएको छ ।   

प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमका अनुसार देश विदेशमा रहेका नेपालीहरुको सहयोगले छात्रावास चलेको छ । प्रतिष्ठानले बिहान बेलुकाको खाना खुवाउँछ भने मितेरी फाउण्डेसनले खाजाको व्यवस्था गरेको छ ।   

विषालु च्याउ खाँदा एकै परिवारका ८ जनाको ज्यान गएपछि पत्रकार एकल सिलवाल त्यहाँको परिवर्तनको संवाहक वनेका थिए । कान्देश्वरी विद्यालयमा सरकारी ३ जना शिक्षकको दरवन्दी छ भने मितेरी फाउण्डेसनले २ जना शिक्षक राखेको छ । प्रतिष्ठानले छात्रावासका लागि १३ जना कर्मचारी खटाएको छ । उनीहरुले आफ्नो काम बाहेक पठनपाठनमा स्वयमसेवा गर्दै आएका प्रतिष्ठानका अध्यक्ष गौतमले बताए ।   

‘प्रतिष्ठानले त्यहाँ ५३ रोपनी जग्गा किनेर छात्रावास संचालनमा सहयोग होस भनेर तरकारी खेती, वंगुर, खसी पालन गर्दै आएको छ । सहयोगको भरमा अहिलेसम्म छात्रावास चलिरहेको छ ।’ प्रतिष्ठानका अध्यक्ष गौतमले भने । सहयोग नआए सञ्चालनमा समस्या हुन्छ, यसलाई सहयोग पुर्याउन बाख्रा, बगुरपालन गर्नु परेको छ । छात्रावासका लागि आवश्यक खाद्यान्न कान्दासम्म पुर्याउन अभिभावकहरुले पालैपालो सहयोग गर्दै आएका छन् । 

राप्ती नगरपालिकाबाट पर्याप्त सहयोग नपाएको विद्यालयको गुनासो छ । राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल विद्यालयको आवश्यकता अनुसार सहयोगका लागि नगरपालिका सदैव तयार रहेको बताउँछिन् । आफ्ना छोराछोरीको भविष्यका लागि स्वयम अभिभावक पनि जिम्मेवार हुनु पर्ने नगरपालिकाले बताउँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *